काठमाडौं-नेपाली कांग्रेसले आइतबार संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एकैदिन दुईवटा बैठक बोलाउनुले कांग्रेसले विशेष निर्णय लिँदैछ भन्ने अनुमान गरिएको छ ।
शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा एक मत भएर जाने निर्णय गरेको थियो । जसकारण भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिँदैछ भन्ने बुझिन्छ ।
आज दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठक बस्नुअघि नै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र आफू सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गर्न लागेको नेताहरूको भनाइ छ । एमालेले पनि प्रतिपक्षी दलको हैसियत माग गरेको र कांग्रेस आजसम्म पनि विपक्षी दलकै कुर्सीमा बसेकाले सरकारमा जाने निश्चित भएसँगै सत्तापक्षको कुर्सीमा बस्नु उचित हुने कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ । त्यसैले आज कांग्रेसले दुईवटा बैठक बोलाएको हो ।
कांग्रेस सरकारमा जाने निश्चित भएसँगै सभापति शेरबहादुर देउवालाई मन्त्रीको सूची बनाउन महाभारत भएको छ । नयाँदेखि सिनियर नेतासम्म मन्त्रीका आकांक्षी भएकाले पनि देउवालाई मन्त्रीको सूची बनाउन सकस पर्ने देखिएको हो । कांग्रेसमा विभिन्न गुट छन् । नेताहरूको गुटलाई पनि म्यानेज गर्नुपर्ने भएकाले आठ मन्त्री र एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने छलफल सुरु भइसकेको छैन् । त्यसमा पनि सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताहरुको खडेरी देखिएको छ ।
उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सरकारमा नजाने मनस्थितिमा रहेकाले अरु कसलाई नेतृत्व दिने भन्ने अप्ठेरो अवस्थामा देउवा छन् । मन्त्रीका आकांक्षीको संख्या २० भन्दा बढी पुगिसकेको छ । विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, धनराज गुरुङ, एनपी साउद, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, उदयशमशेर राणा, विनोद चौधरी, सीता गुरुङ, रमेश रिजाल, दीपक खड्का, तेजुलाल चौधरी, ज्ञानेन्द्रबहादुर कार्कीलगायत मन्त्रीका आकांक्षी छन् । यीमध्ये कोही एक नेताले सरकारमा पार्टीको नेतृत्व गर्ने नेताहरुको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।