काठमाडौं - फेरि सत्तामा पुग्ने आफ्नो महत्वाकांक्षा पूरा नहुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले सरकारविरुद्ध प्रहार गर्न थालेका छन् ।
त्यसको अस्त्र मुस्ताङमा खोलिन लागेको बौद्ध कलेजलाई बनाउँदै त्यसैलाई आधार बनाएर उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतविरुद्ध खनिएका छन् । यिनै ओली हुन् जसले भारतीय अनुदान सहयोगमा झापामा दर्जनौं आयोजना पारेका छन् ।
आफू सरकारमा रहँदा वा नरहँदा पनि ओलीले भारतीय सहयोगमै आयोजना पार्ने गरेका छन् ।
एमालेका नेता–कार्यकर्तासमेत आबद्ध भएको मुस्ताङ साक्या बौद्ध संघले मुस्ताङमा कलेज स्थापनाको प्रक्रिया अघि बढाएको थियो ।
एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्ष रिङ्जीन नामगेल गुरुङले भारतीय दूतावासमा पत्राचार गरेका थिए । कलेज खोल्नका लागि टेन्डर नै आह्वान भएको थियो ।
बुद्ध धर्मसँग सम्बन्धित कलेज स्थापनाको आवश्यकता महसुस गरेर नै मुस्ताङका स्थानीय जनता र संघसंस्थाले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका थिए ।
तर ओलीले भारतको सहयोगमा कलेज खोल्दा चीनमाथि गद्दारी हुने भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गरेपछि अहिले उनी किन चीनसँग लपक्कै छन् भन्ने रहस्य खोतल्न थालिएको छ ।
ओलीले सार्वजनिक रूपमै अभिव्यक्ति दिएपछि अहिले सर्वसाधारण जनताले प्रश्न उठाउन थालेका छन्– ‘चीनसँग सीमा जोडिएकाले त्यहाँको कुनै पनि योजनामा भारतीय सहयोग लिँदा चीनमाथिको गद्दारी हुन्छ भने भारतसँग सीमा जोडिएको ओलीको गृहजिल्ला झापामा चिनियाँ आर्थिक सहयोगमा कुनै परियोजना सञ्चालन गर्दा त्यो ‘भारतमाथिको गद्दारी’ हुन्छ कि हुँदैन ?’ ओलीको कथनको आशय के देखिन्छ भने चीनसँग सीमा जोडिएकाले त्यहाँको पूर्वाधार निर्माणमा भारतको सहयोग लिनु हुँदैन।
यदि अन्य मुलुकको आर्थिक सहयोग लिइयो भने त्यो ‘चीनमाथिको गद्दारी’ हुन्छ। ओलीले यसो भन्नुको गुह्य कारण उनको गृहजिल्ला झापाको दमकमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ रहेको बुझिएको छ ।
६५ अर्ब लगानीमा बन्ने भनिएको पार्कको शिलान्यास प्रधानमन्त्री छँदा ओली आफैले २०७७ फागुन १६ गते गरेका थिए । जुन पार्कका कारण त्यहाँ सयौं सुकुम्बासीको उठिबास लाग्ने भएको छ ।
पार्कको निर्माण चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले गर्नेछ ।
जसका लागि लगानी बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ । पार्कले २१ सय बिघा क्षेत्रफल चर्चिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।