धनगढी– केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत मिलेको छ। राष्ट्रपति निर्वाचनअघि केन्द्रमा नेपाली कांग्रेससहित ८ दलको गठबन्धन बनेपछि शाह विश्वासको मत पाउनेमा ढुक्क देखिएका हुन् ।
एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाह एमाले–माओवादीको समीकरण रहँदासम्म विश्वासको मत नपाउने हो कि भन्ने आशंकामा थिए ।
तर केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलको गठबन्धन बनेपछि विश्वासको मत पाउनेमा उनी ढुक्क भएका हुन् । संविधानअनुसार उनले नियुक्तिको ३० दिनभित्र अर्थात २६ फागुनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।
५३ सदस्यीय प्रदेशसभामा हाल शाहलाई कांग्रेसका १९ र सरकारमै सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । तर प्रदेशसभाको विश्वास पाउन २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
केन्द्रको ८ दलीय गठबन्धनमा रहेका दल माओवादी केन्द्रको १० (सभामुखबाहेक) र नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यको समर्थन पाएमा मुख्यमन्त्री शाहले ४० प्रदेशसभा सदस्यको मत पाउनेछन् । प्रदेशसभामा आठदलीय गठबन्धन भन्दा बाहिर रहेका दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी १२ जना रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।