काठमाडौं- राष्ट्रपति निर्वाचनले संघमा समीकरण फेरिएसँगै प्रदेशमा एमाले नेतृत्वमा बनेका सरकार धरापमा परेका छन् । लुम्बिनी, गण्डकी र प्रदेश १ सरकार धर्मर बनेका छन् । राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै ती प्रदेशमा रहेका एमालेका मुख्यमन्त्रीको पद धरापमा परेको हो ।
प्रदेश १ मा एमालेका हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री छन् । लुम्बिनी र प्रदेश १ राप्रपाले समर्थन फिर्ता लिए पनि ठूलो दलको हैसियतले फेरि एमालेले एक महिना सरकार चलाउन सक्छ तर संंसदमा विश्वासको मत भने देखाउनुपर्ने छ । तर गण्डकीमा भने परिस्थिति बेग्लै छ । राप्रपाका एकजना मन्त्री सरकारबाट बाहिरिए मुख्यमन्त्री अधिकारीको सरकार अल्पमतमा पर्छ ।
समानुपातिक प्रणालीबाट दुई सिट जितेको राप्रपाले पहिलोपटक गण्डकी प्रदेशसभा प्रवेश गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व छ । ६० सदस्यमध्ये कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको आठ, राप्रपाको दुई सिट छ । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका राजीव गुरुङ पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
गण्डकीमा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । राप्रपाले समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र माओवादीका आठजना गरी ३० जनाको समर्थन रहनेछ । माओवादीले समेत समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ जनाको मात्र साथ रहनेछ । राप्रपा सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्रीले संविधानको धारा १८८ ९२० अनुसार विश्वासको मत लिनुपर्छ । संविधानको उपधारा २ मा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’
यस्तो अवस्थामा मुख्यमन्त्री अधिकारीले चैत १३ गतेभित्र विश्वासको मत लिनुपर्छ । अर्थात्, राप्रपाका मन्त्रीले आज राजीनामा बुझाए भने मुख्यमन्त्री अधिकारीले चैत १३ गतेभित्रै विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत नपाएको खण्डमा सरकार स्वतः ढल्छ । यदि अधिकारीको सरकार ढलेमा प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने निश्चित छ । कांग्रेससँग २७ सांसद छन् । कांग्रेसलाई जम्मा चार मत मात्र आ आवश्यक पर्छ । माओवादी अहिले कांग्रेससँगै गठबन्धनमा छ ।
स्रोतका अनुसार आफ्ना विश्वासपात्र खगराज अधिकारीको कुर्सी चैट हुने भएपछि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सरकारबाट हटे पनि समर्थन कायमै राख्न दबाब दिइरहेका छन् । एमालेले केन्द्रमा सरकारबाट फिर्ता नहुनुको कारण पनि आफ्ना मुख्यमन्त्रीको कुर्सी जोगाउन रहेको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।