काठमाडौं– राष्ट्रपतिमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बचन दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेका थिए ।
एक नेताका अनुसार कांग्रेस र माओवादीबीच संस्थागत रुपमा छलफल गर्ने योजना थियो । माओवादीबाट पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेत पनि बैठकमा आउने भनिएको थियो । तर खबर गर्न नभ्याएको भन्दै प्रचण्ड मात्र सहभागी भए ।
स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने बचन मात्र दिएनन्, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको सुनाएका थिए ।
कांग्रेस नेताहरुले पनि १० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गरेका छन् र, अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिवद्धता जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।