काठमाडौं- एमाले अध्यक्ष केपी ओलीलाई सबैले निरंकुश, स्वेच्छाचारी नेता भनेर आरोप लगाउँछन् । प्रत्येक दलका नेताले ओलीको खोइरो नखनेको दिन हुन्न । तर पार्टी संगठन विस्तारमा भने ओली जति कुनै पनि दलका नेताले ध्यान दिएको पाइन्न । पार्टीमा अहिले ओलीको विरोध गर्ने खासै कोही छैनन् ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मुखैमा ओलीले अनेरास्ववियुको महाधिवेशन गर्न लगाएर सबैको मुख बन्द गरिदिएका छन् । कतिसम्म भने उनले महाधिवेशनमा कसैलाई प्यानल नै बनाउन दिएनन् । एमालेमा गुट र वैचारिक धार नभएको भन्दै ओलीले अखिलमा प्यानल र गुट बनाउन नदिएका हुन् ।
नेतृत्वका आकांक्षीले उम्मेदवारी दिए । आ–आफ्ना ढंगले मत मागे र चुनाव जिते । अखिल अध्यक्षमा ओली निकट समिक बडाल निर्वाचित भएका छन् । साढे १५ सय मत खसेकामा उनले साढे नौ सय मत पाए ।
कुनै हल्लाखल्ला नगरीकन अखिलले महाधिवेशन गरिसक्दा पनि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भने आपसी कलहमै रुमल्लिएको छ । अहिलेसम्म तदर्थवादमा चलेको नेविसंघले आसन्न स्ववियु निर्वाचन कसरी ह्यान्डिल गर्ला भन्ने कांग्रेस कार्यकर्तामा चिन्ता उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरे पनि तदर्थ समितिलाई पूर्णता दिन सकेका छैनन् । बरु अहिले नेविसंघका दुई समूह आपसमा भिडेर बसेका छन् । पार्टी नेतृत्वलाई चाँडै महाधिवेशन गर्न दबाब दिनसमेत सकेका छैनन् ।
एक वर्षअघि कांग्रेसको महाधिवेशनबाट आएको नयाँ नेतृत्वले नेविसंघको महाधिवेशन चाँडै गर्ने प्रतिबद्धता जनाएको थियो । तर त्यसपछिका स्थानीय निर्वाचन, आमनिर्वाचनले नेविसंघको महाधिवेशन हुन सकेन । मंसिरको आमनिर्वाचनपछि दुई तीन महिना समय थियो । तर पार्टी नेतृत्वले त्यत्तिकै समय खेर फालेको छ । अब चैत ५ गते हुने स्ववियु निर्वाचनअघि नेविसंघको महाधिवेशन हुने कुनै सम्भावना देखिन्न ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।