काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको उनले बताए ।
आफ्नो सवारी कसरी चलाउने भन्ने विषय राष्ट्रपतिको हातमा नहुने तर उनीहरुले आलोचना खेप्नुपर्ने बाध्यता रहेको पन्तले बताए । ‘त्यसैले यो प्रश्नको समाधान राजनीतिक नेतृत्वले दिनुपर्छ, प्रधानमन्त्रीको तहबाट हुनुपर्छ’ उनले भने ।
राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए । ‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्यो, मास्क लगाउनुपर्यो’ उनले भने ।
विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उनले बताए । ‘लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन’ उनले भने ।
यसअघिको राष्ट्रपति डा। रामवरण यादव र वर्तमान राष्ट्रपतिले पनि आफ्नो सवारी चलाउँदा नागरिकलाई दुख नदिनू भनेको भन्दै पन्तले भने, ‘सरकारले नगर्दा राष्ट्रपतिले गाली खानुपर्यो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।