काठमाडौं- सत्तागठबन्धनमा किचलो सुरु भएसँगै केही दिनयता नेपाली कांग्रेसका नेताहरूको बोली फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि केही समय मौन बसेका कांग्रेस नेताहरूलाई अहिले दिनहुँ सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिन भ्याइनभ्याइ छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका नेताहरूको अभिव्यक्तिले कांग्रेसजन अलमलमा परेका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन भत्काउने प्रयास भइरहेको बताउँदै आएका छन् । डा.शेखर कोइरालाले त कांग्रेसबाट उठ्ने राष्ट्रपतिको उम्मेदवारलाई माओवादीले भोट हाल्ने दाबी गर्दै आएका छन् । अहिलेको गठबन्धन कायमै रहेमा माओवादीले कांग्रेस उम्मेदवारलाई भोट हाल्ने कुनै सम्भावना नै छैन ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त सार्वजनिक रूपमै कांग्रेसले उठाउने व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार हुने बताउँदै आएका छन् । के आधारमा शर्माले उनलाई यस्तो भनेका हुन् भन्ने खुलेको छैन ।
कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइरालाले त केही समयअघि गृह मन्त्रालय लिएर भए पनि कांग्रेस सरकारमा सहभागी हुन सक्ने बताएका थिए । यो अभिव्यक्तिपछि कोइराला निकै विवादमा तानिएका छन् । उनको चौतर्फी आलोचना भइरहेको छ । सबैभन्दा ठूलो पार्टी कांग्रेसको हैसियत अब गृहमन्त्री पाउने हो त भन्दै उनको आलोचना भइरहेको हो ।
यही बीचमा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्। नुवाकोटमा अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए।
‘गठबन्धन गरेर एक आपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो’, महतले भने, ‘ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविक रुपमा लिएका छौँ। स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।