काठमाडौं– सत्तारुढ गठबन्धन अहिले गृहमन्त्रीको घनचक्करमा फसेको छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन जोगाउने नाममा अनावश्यक सम्झौता नगर्न सुझाव दिएको छ ।
सत्ता गठबन्धन दलबीच मनमुटाव भए सरकार नै अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता नलिन पनि कांग्रेसले प्रचण्डसमक्ष सन्देश पुर्याएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सन्देश पठाएका हुन् । मन्त्रालय भागबन्डादेखि मन्त्री बनाउने व्यक्तिसम्ममा प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनका दलबाट बढी दबाब आउन थालेपछि कांग्रेसले यस्तो सन्देश पठाएको एक नेताले जानकारी दिए।
अहिलेको सत्ता गठबन्धन टुटे पनि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नै बनाइराख्ने सन्देश प्रचण्डसम्म पुर्याइएको छ । सभापति देउवाले प्रचण्डलाई यस्तो सन्देश पठाएको देउवानिकट स्रोत बताउँछ ।
सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय आफैँलाई दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ ।
यस्तै, सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाइरहेको छ ।
प्रचण्डले सर्वोच्चबाट रवि लामिछानेको मुद्दाको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् ।
नागरिकता प्रकरणमा दोषी देखिएपछि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएका थिए । सोही कारण प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूसँग नै राखेका छन् ।
रास्वपाले गृह मन्त्रालय पुनः आफूलाई दिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिरहेको छ ।
सत्ताको प्रमुख साझेदार दल नेकपा एमाले पनि गृह मन्त्रालय रास्वपालाई दिन र आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपतिमा मत दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ ।
तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट रवि लामिछानेको मुद्दाको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् ।
मंगलबार पार्टीको बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । यसपछाडिको कारण पनि रास्वपा वा अन्य कुनै दलले समर्थन फिर्ता लिए पनि कांग्रेसले साथ दिएर प्रचण्डलाई सरकारको नेतृत्व निरन्तर गरिरहने सुनिश्चिताको वचन भएको स्रोत बताउँछ ।
रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बिहान बालुवाटारमा भेटेर आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।