काठमाडौं - केन्द्र सरकारमा सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला लुम्बिनी प्रदेशमा गठबन्धन फुटेको छ ।
लुम्बिनी प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार उठाएपछि नागरिक उन्मुक्ति गठबन्धनबाट बाहिरिएको हो ।
नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताइन् । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ प्रमुख मुद्दा बनाएको थियो । तर, त्यसमा सरकार सहमत नहुँदा नागरिक उन्मुक्ति प्रदेशमा गठबन्धनबाट अलग भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका उम्मेदवार कायम छन् । सत्ता गठबन्धनबाट एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । निर्वाचनमा सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टि भएको हो ।
एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ । सोमबार प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो । एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।