काठमाडौं– नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाएका थिए । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका थिए ।
यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बन्न पुगे । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् ।
१० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनायो ।
सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । नेताहरुका अनुसार त्यसको अघिल्लो दिन भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई विश्वासको मत दिए फेरि सहकार्यको आधार बन्ने र राष्ट्रपतिका लागि कोशिस गर्ने आश्वासन दिएका थिए ।
त्यही आधारमा कांग्रेस नेताहरुले अहिले पनि राष्ट्रपति निर्वाचनसम्म परिस्थिति फेरिनसक्ने बताउने गरेका छन् । माओवादीका नेताहरुले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको र कांग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।