काठमाडौं - पुस १० गतेयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेससँग संवाद ठप्प छ । कांग्रेसले प्रधानमन्त्री बनाउने निर्णय भयो, बालुवाटार आउनुस् भनेर बोलाउँदा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीको शरण पुगेपछि प्रचण्डलाई कांग्रेसको अघि मुख देखाउन लाज लागेको छ ।
प्रचण्ड आफूलाई चतुर खेलाडी ठान्छन् । उनी आफूले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको दाबी गरेर थाक्दैनन् । तर यसपटक उनी आफ्नो बलमा होइन ओलीको चाहनामा प्रधानमन्त्री बनेका हुन् भन्ने सबैले बुझेका छन् ।
प्रचण्ड वास्तवमै धूर्त खेलाडी हुन् । सधैं अरुलाई आफ्नो इसारामा चलाउँछु भन्ने प्रचण्ड अहिले एमालेको चर्को घेराबन्दीमा परेका छन् । अनुमान गरिएजस्तो एमालेसहितको गठबन्धनले लामो यात्रा गर्नेमा सन्देह उत्पन्न भएको छ । सुरुमा कांग्रेससहितको गठबन्धन भत्काउनुलाई पहिलो गृहकार्यका रुपमा अंगीकार गरेको एमालेले त्यसमा सफलता पायो । तर, त्यसपछिका उद्देश्य पूरा गर्ने कुरा चुनौतीपूर्ण बन्दै गएको छ ।
नयाँ सन्दर्भमा विकसित शक्ति सन्तुलनका आधारमा न्यायोचित तवरले पदहरू लेनदेन हुनुपर्ने प्रचण्डको मान्यतालाई एमालेले स्वीकार गरेको छैन । उसले आफ्नो पूर्वयोजनाबमोजिम दाबी गरिरहेका पदहरू जस्ताको तस्तै प्राप्त हुनुपर्ने अडान लिएको छ ।
नयाँ संसदभित्र विकसित शक्ति सन्तुलनलाई संविधान, कानुन र लोकतान्त्रिक विधिको रक्षा गर्ने गरी पदहरूको लेनदेन हुनुपर्ने स्थितिमा एमालेको दाबीअनुसार राष्ट्रपति र सभामुख उसैलाई दिने कुरा न्यायोचित नहुने प्रचण्डको ठहर छ ।
एमालेसँगको सहमतिअनुसार यो संसदको आधा कार्यकालपछि प्रधानमन्त्री पनि उसैलाई दिनुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा संसदभित्र स्पष्ट बहुमत नभएको र संख्याका दृष्टिले दोस्रो ठूलो दलका रुपमा उपस्थित पार्टीलाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका पद दिनु शक्ति सन्तुलन मिलाउन र लोकतान्त्रिक विधिको रक्षा गर्ने विषयका निम्ति चुनौतीपूर्ण हुने ठम्याइ प्रचण्डको छ ।
एमाले भने प्रचण्डलाई निश्चित अवधिका निम्ति प्रधामन्त्री दिएर भए जतिका प्रमुख पदहरूमा आफू हावी हुने रणनीतिमै कायम छ । उसले प्रचण्डलाई सहमति बमोजिम पूरै कार्यकाल, अर्थात साढे दुई वर्षकै निम्ति प्रधानमन्त्री स्वीकार गर्ने मनस्थिति बनाएको छैन । त्यसैले एमाले अध्यक्ष ओलीले आफूले चाहेको दिन प्रचण्डलाई प्रधानमन्त्रीबाट बिदा गरिदिन सक्ने छन् । त्यही रणनीतिअनुसार अहिले उनी स्वतन्त्र सांसदलाई पार्टीमा भित्र्याएर एकीकृत समाजवादीलाई पार्टी एकता गरेर एमाले बनाउन चाहन्छन् ।
यसो भएमा ओलीसँग कांग्रेसको भन्दा धेरै सांसद हुन्छन् । त्यसबेला प्रचण्डको भूमिका कमजोर हुँदै जाने निश्चित छ । त्यति मात्र होइन, ओलीले अझै पनि प्रचण्डलाई विश्वास गर्न सकिरहेका छैनन् । प्रचण्ड पनि ओलीसँग ढुक्क छैनन् । यस्तो अवस्थामा सरकार सञ्चालनको काम निर्वाध ढंगले अघि बढ्ला भन्ने कुरा काल्पनिक मात्र हुन जान्छ ।
प्रचण्ड अहिले प्रधानमन्त्री भएँ, सबै शक्ति मैसँग छ भनेर भन्दै आएका छन् । तर, स्थिति हेर्दा उनी पपेट जस्ता मात्र देखिएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष ओली छन् । सरकारको न्यूनतम साझा कार्यक्रमको संयोजक एमाले उपाध्यक्ष विष्णु पौडेल छन् ।
सरकारमा गृहमन्त्री रवि लामिछानेको मात्र चर्चा छ । प्रमुख प्रतिपक्षी दलको नेता कांग्रेस सभापति शेरबहादुर देउवा छन् । उनको सहभागिताविना संवैधानिक अंगले पूर्णता पाउँदैन । त्यसैले ओली, देउवा र लामिछानेको घेराबन्दीमा प्रचण्ड फस्ने निश्चित छ ।
अझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको घुर्की त सरकारमा सामेल भएपछि प्रचण्डले भोग्नुपर्ने दिन आउँदैछ । यी सबै घेराबन्दीका बीच प्रचण्डले सरकार राम्रोसँग चलाउन सक्लान् भन्ने कसैले सोचेका पनि छैनन् । यदि कांग्रेसकै सहमतिमा प्रधानमन्त्री बनेको भए प्रचण्ड यो हदसम्म निरीह बन्नुपर्ने अवस्था आउँदैनथ्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।