काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्रीमा निर्वाचित गगन थापाले जितेका छन् ।
सभापतिमा निर्वाचित हुँदा देउवाले २७३३ मत पाएका थिए तर महामन्त्री थापाले ४३९० मत गणना हुँदा २८२३ मत पाएका छन् । थापाको मत अझै बढ्ने छ ।
कांग्रेसको १४औं महाधिवेशनमा हालसम्म गणना भएका मतमध्ये सार्वजनिक मत पाउने उम्मेदवारको कीर्तिमान गगन थापाको नाममा लेखिएको छ । गगन थापा सर्वाधिक रुचाइएका उम्मेदवार बनेका छन् ।
महाधिवेशनको मतदान भइरहँदा समेत देशभरबाट आएका प्रतिनिधिले थापासँग सेल्फी लिन तछाडमछाड गर्दै लोकप्रियता व्यक्त गरेका थिए । महामन्त्री थापाले कुनै गुट, पक्ष नभई सबैतिरका भोट पाएको विश्लेषण भइरहेको छ । महामन्त्री थापालाई कांग्रेसमा भविष्य भएको युवा नेता मानिन्छ, जुन कुरा लोकप्रिय मतबाट व्यक्त भएको छ ।
महामन्त्री पदका लागि भएको चुनावको ४३९० मत गणना हुँदा थापाले २८२३ मत पाइसकेका छन् । कांग्रेस महामन्त्रीमा थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुने भएका छन् ।
महामन्त्री पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको हो । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा थिए ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।