काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको भएको निर्वाचनको पदाधिकारीको मतगणना आज बुधबार दिउँसोबाट सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मतगणनाको कार्य आज बुधबारैबाट सुरु हुने जानकारी दिएको छ ।
निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले बुधबार अपरान्ह्बाट मतगणना सुरु गरिने जानकारी दिए । उनका अनुसार आज पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो ।
कांग्रेस महामन्त्रीमा युवा उम्मेदवारबीच कडा टक्कर हुने आकलन रहेकाले चासोका साथ हेरिएको छ । महामन्त्रीमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाशशरण महत र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । महामन्त्रीमा २ जना निर्वाचित हुने व्यवस्था छ ।
पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि मंगलवार पुनः मतादन भएको थियो ।
दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । मंगलवार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।
सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उनले मतगणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताएका छन् ।
उनले भने, ‘आजै मतगणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौं र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौं ।’
कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मंसिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औं महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रिय सभागृहमा १ स्थान र भृकुटीमण्डपमा २ स्थानमा मतदान भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।