काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ ।
दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न लाग्नेछन् । हुन शनिबार मनोनयन दर्ता गरेसँगै भोट माग्ने क्रम जारी छ ।
तर यसपटकको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाका चर्चित सारथीहरू आफूलाई मत माग्न महाधिवेशनस्थलमा देखिएनन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.नारायण खड्का, एनपी साउद, रमेश लेखक, मिन विश्वकर्मा, शंकर भण्डारी, मोहनबहादुर बस्नेतहरूलगायत छन् ।
कार्की सञ्चारमन्त्री, खाँण गृहमन्त्री र खड्का परराष्ट्रमन्त्री छन् । साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेत केन्द्रीय सदस्य थिए । यी सबै १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए । तर, कसैले पनि पदाधिकारीको टिकट पाएनन् । महामन्त्रीमा खाँण र कार्कीको हानथापले डा.प्रकाशशरण महतले बाजी मारे ।
लेखकले त आफैं गएर केन्द्रीय सदस्यको मनोनयनसमेत दर्ता गराएनन् । महाधिवेशनस्थलमै भएर पनि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरे ।
देउवा अहिलेसम्म कांग्रेसमा बलियो हुनुमा कार्की, खाँण, खड्का, साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेतको धेरै हात छ ।
बस्नेत विरामी भएकाले चुनावमा त्यति सक्रिय हुन सकेका छैनन् । तर, खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता गराएनन् । आखिर किन देउवाले आफ्ना चर्चित सारथीहरूलाई पदाधिकारीमा लगेनन् त ? देउवा निकट एक नेताका अनुसार अहिले संस्थापनमा कृष्णप्रसाद सिटौलाको हालीमुहाली बढेको छ । यसले गर्दा पनि कोही खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लागेका छैनन् ।
सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, गोविन्दराज जोशीहरू विस्थापित भए । अब सायद रमेश लेखक, एनपी साउदहरू देउवा शिविरबाट बाहिरिन सक्ने अनुमान गर्न थालिएको छ ।
आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने ती नेताको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।