काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी मनोनयन जारी छ ।
अहिलेसम्म सभापतिमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । गुरुङ महोत्तरी र न्यौपाने गोरखाका हुन् ।
अझै पनि सभापतिका चार आकांक्षी शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा.शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराइसकेका छन् । चारै नेता प्यानलसहित निर्वाचनमा जाने तयारी गरेका छन् ।
तर, महाधिवेशनस्थल भृकुटीमण्डप परिसरमा भने महाधिवेशन प्रतिनिधिमा खासगरी तीन ‘ब’ को चासो धेरै देखिएको छ । ती हुन् विमलेन्द्र निधि, विश्वप्रकाश शर्मा र बालकृष्ण खाँण ।
पार्टी उपसभापति विमलेन्द्र निधिले कसलाई समर्थन गर्लान् वा आफैं सभापतिमा उम्मेदवारी दर्ता गर्लान् भन्ने चासो प्रतिनिधिमा देखियो । प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गर्दा निधि पनि त्यही कार्यक्रममा थिए । त्यसैले निधिले सिंहलाई समर्थन गर्ने हुन् कि भन्ने सबैमा चासो देखिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने सबैभन्दा ठूलो समस्यामा परेका छन् । उनलाई अहिलेसम्म देउवा र शेखर कोइराला समूहले महामन्त्रीको सूचीमा राखेका छैनन् ।
जबकि शर्माले धेरै अघि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका हुन् । त्यसैले अहिले उनी प्रकाशमान वा निधि प्यानलमध्ये एकमा अट्ने गरी महामन्त्रीका लागि संवादमा जुटेका छन् । शर्मा कांग्रेसमा निकै लोकप्रिय छन् । तर, आकांक्षी धेरै हुँदा शर्मा देउवा र शेखरको टिममा पर्न सकेनन् ।
उता, सबैभन्दा ठूलो सकसमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण परेका छन् । उनी पनि करिब करिब महामन्त्रीको दौडबाट बाहिरिसकेका छन् ।
संस्थापन पक्षले डा.प्रकाशशण महत र प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेपछि देउवा समूहमा विद्रोह हुने संकेत देखिएको छ । खाँणले शनिबार बिहान बालुवाटारमा आफू महामन्त्रीमा उठ्ने भन्दै नराखे राम्रो नहुने भन्दै आक्रोशित हुँदै बाहिरिएका थिए । खाँण, एनपी साउद र शंकर भण्डारी अहिले सभापति देउवासँग निकै असन्तुष्ट छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।