काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि जिल्ला जिल्लाबाट केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
काठमाडौं आइपुगेसँगै उनीहरू अहिले कस्तो नेतृत्व आवश्यक छ र कसलाई ल्याउने भन्ने बहस र छलफलमा जुटेका छन् ।
अहिलेसम्म कांग्रेसमा पाँचजना सभापतिका उम्मेदवारको चर्चा छ । जसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र विमलेन्द्र निधि चर्चामा छन् ।
महाधिवेशन प्रतिनिधिहरू पनि यीमध्ये कसलाई सभापति निर्वाचित गराउने भन्ने छनोटमा लागेका छन् । यसैक्रममा इलाम क्षेत्र नम्बर १ बाट कांग्रेस महाधिवेशनमा निर्वाचित दुर्गा सुवेदी फेरि पनि सभापतिमा देउवाकै आवश्यकता रहेको बताउँछन् । खसआर्य समूहबाट उम्मेदवारी दिएका सुवेदी १९२ मत प्राप्त गरेर प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
भ्रष्टाचार विरोधी अभियान्ता सुवेदी देउवाले मात्र कांग्रेसलाई सबल र सक्षम बनाउने, आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सक्ने क्षमता राख्न सक्ने सुवेदीको तर्क छ ।
२६ वर्षको उमेरमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर इलाममा इतिहास बनाएका सुवेदी समकालीन नेताहरूमध्ये देउवा नै परिपक्व र सम्मानित भएको भन्दै आगामी दिनमा उनले कांग्रेसलाई बलियो र एकढिक्का राख्न सक्ने बताउँछन् । कांग्रेसमा पुस्तान्तरण अनिवार्य रहे पनि सभापतिबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा युवालाई ल्याउनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रारम्भिक नतिजा विश्लेषण गर्दा झण्डै ४० प्रतिशत युवा प्रतिनिधि १४औं महाधिवेशनमा आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।