काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सि शुक्रवारदेखि राजधानी काठमाडौंमा सुरू हुँदैछ ।
कांग्रेसको १३ पदाधिकारी र १२१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १३४ जना चुन्नका लागि महाधिवेशन हुन लागेको छ ।
कांग्रेसको महाधिवेशनबाट नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति बिमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ दौडमा छन् ।
नेता कल्याण गुरुङले समेत सभापति पदमा नै दाबी गर्दै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।
सभापतिको दौडमा संस्थापन पक्षबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर पक्षबाट पौडेल, पूर्व महामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् भने तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।
संस्थापन पक्षबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्री समेत रहेका देउवाले सोमवार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिएका छन् भने सोही पक्षबाट निधि र श्रेष्ठको समेत दाबी रहेको छ ।
संस्थापनइतर पक्षले सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ तर सो विषय सहजै टुंगिने भने सम्भावना कम रहेको छ । मंगलवार मात्रै पनि पूर्व महामन्त्री सिंहको ठमेलस्थित निवासमा ५ घण्टा बढी बैठक चलेको थियो ।
वरिष्ठ नेता पौडेलले साझा उम्मेदवार तय गर्ने विषयमा आफूहरु सहमतिनजिक पुगेको दाबी गरेका छन् ।
‘हामी सहमतिको नजिक छौं, साझा उम्मेदवार टुंग्याउन हामी सबै एक छौं, बुधवार बिहान बैठक बसेर निर्णय लिन्छौं,’ मंगलवार बसेको इतर पक्षको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै पौडेलले भनेका छन् ।
बैठकमा महामन्त्री डा. कोइरालाले भने आफू सहमतिका लागि सभापतिको दौडबाट बाहिरिने भन्दै वरिष्ठ नेता पौडेलका लागि समर्थन गरेका छन् ।
तर सभापतिमा दाबी गर्दै आएका नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री सिंह भने आफ्नो दाबीबाट पछि हटेका छैनन् । उनीहरु आफैं सभापतिको साझा उम्मेदवार हुनुपर्ने अडानमा रहेका छन् ।
‘शशांकजी ब्याक हुन तयार हुनुभएको छ, शेखर र प्रकाशमानजीले अझै पनि आफ्नो अडान नछाड्दा समस्या भएको छ,’ बैठकमा सहभागी एक नेताले भनेका छन् ।
इतर पक्षको साझा उम्मेदवार खोज्ने प्रक्रियामा अघि बढ्दै आएका नेता अर्जुननरसिंह केसीले सहमति नभए सिंगो समूहले नै निर्णय लिने बताएका छन् ।
‘हामी अन्तिम समयसम्म पनि सहमति गरेरै साझा उम्मेदवार छान्न प्रयत्न गर्छौं, त्यो अवस्था बनेन भने समूहले निर्णय गर्छ, निर्णय सबैले मान्नुपर्छ,’ नेता केसीले भने ।
वरिष्ठ नेता पौडेलले २ नेता सहमतिमा पुगे आफू पनि छाड्न तयार हुने संकेत गरेको महामन्त्री कोइरालाले बताएका छन् ।
इतर पक्षले साझा उम्मेदवार’दयगत छलफल गर्न आफ्नो पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्व जिल्ला सभापतिहरु र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका नेताहरुसँग बुधवार छलफल गर्ने बताएको छ । छलफलबाट निष्कर्ष निस्कने अनुमान इतर पक्षको रहेको छ ।
युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरी सहितको मंगलवार बसेको बैठकले इतर पक्षका नेताहरूलाई सभापतिको साझा उम्मेदवार तोक्न दबाब दिएका जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।