शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा गुटबन्दीको असर कति ? को–को छन् संलग्न ?

कांग्रेसमा गुटबन्दीको असर कति ? को–को छन् संलग्न ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 3.2K
    SHARES

  • कांग्रेसमा गुटबन्दीको असर कति ? को–को छन् संलग्न ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरे पनि तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बन्दै गएको छ ।

    पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन सभापति शेरबहादुर देउवा र संस्थापन इतर रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला पक्षमा तल्लो तहसम्म नेता–कार्यकर्ता विभाजित देखिएका छन् ।

    पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रूपमा उदाएको कृष्णप्रसाद सिटौला पक्षको झुकाव केन्द्रमा सभापति देउवातिर रहेको छ । स्थानीय स्तरमा भने सिटौला पक्षले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गरेको छ ।

    पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बनेको छ ।

    प्रमुख २ गुटबीच वडा तहदेखि नै प्रतिस्पर्धा भएको छ । कञ्चनपुर, झापा सहितका केही जिल्लामा केन्द्रीय नेताको आन्तरिक प्रतिस्पर्धाले गर्दा भिन्नै खालको समीकरण समेत रहेको छ ।

    पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरुबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा नै रोकिएका छन् ।

    राम्रोभन्दा हाम्रो नेता खोज्ने क्रमले तीब्रता पाउँदा केही जिल्लामा कार्यकर्ता आपसमै कुटाकुटमा समेत उत्रिएका छन् ।

    सभापति देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला सभापति सहितका नेताको सहभागिता विना अधिवेशन गरिएको छ । त्यसले गर्दा त्यहाँ केही तनाव समेत भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा समेत २ पक्षबीच झडप भएको छ । प्युठानमा कांग्रेस नेताहरुबीच विवाद हुँदा मतदानस्थलमै गोली चल्यो । आफ्नो पक्षमा जिल्ला नेतृत्व पार्न ओखलढुंगामा मतपत्र नै कीर्ते बनाएको भन्दै विवाद भएको थियो । त्यसको असर अबको १ वर्षभित्र हुने स्थानीय, प्रदेश र आमनिर्वाचनमा पर्नसक्ने देखिएको छ ।

    केन्द्रीय सदस्य प्रदीप पौडेलले तल्लो तहदेखि भएको प्रतिस्पर्धाले नेता तथा कार्यकर्तामा थप तिक्तता बढाउनसक्ने बताए । ‘कांग्रेस भित्रको आन्तरिक द्वन्द्व त्यसै पनि छताछुल्ल छ,’ उनले भने, ‘पार्टीभित्र थप तिक्तता आउन नदिन जित्नेले हार्नेलाई समेटेर सँगै लैजान सक्नुपर्छ ।’ नभए १ वर्षभित्र हुने ३ तहका निर्वाचनमा पनि असर पर्ने उनको बुझाइ छ । 

    ‘लोकतान्त्रिक पार्टीमा आन्तरिक नेतृत्वका लागि प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन,’ पौडेलले भने, ‘निर्वाचन सकिनेबित्तिकै त्यसको तुष हट्नुपर्ने हो तर अहिले त्यस्तो देखिएको छैन ।’

    हुन त कांग्रेसमा गुटगत प्रतिस्पर्धा र राजनीति नौलो होइन । पार्टीको इतिहास जति लामो छ, गुटगत राजनीतिको इतिहास पनि उत्तिकै लामो र पेचिलो रहेको छ । नेपाली राष्ट्रिय कांग्रेस र अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेस स्थापना भएदेखि नै गुटगत प्रतिस्पर्धा हुँदै आएको छ । 

    गुटगत राजनीतिको प्रभावमा २००७ सालको राजनीतिक परिवर्तनपछि गठन भएको सरकार मात्र होइन, २०४६ सालपछि कांग्रेस नेतृत्वमा गठन भएका सरकार पनि गिर्दै आएका छन् ।

    नेतृत्वमा टिक्ने र पुग्ने होडमा एकाघरका दाजुभाइ बीपी कोइराला र मातृका कोइराला बीचको टकरावले कांग्रेस पहिलोपटक विभाजन हुन पुगेको थियो । २ पार्टी मिलेर नेपाली कांग्रेस गठन हुँदा मातृकाप्रसाद कोइराला सभापति र महेन्द्रविक्रम शाह महामन्त्री भएका थिए ।

    गणेशमान सिंह बीपी कोइरालालाई सभापति बनाउन चाहन्थे तर महावीरशमशेर तयार नभएपछि मातृका कोइराला एकीकृत पार्टीको सभापति भएका थिए । राणा, कांग्रेस र राजाबीच दिल्लीमा भएको सम्झौतामा समेत मातृका र बीपीबीच मतभेद थियो ।

    जसले गर्दा कांग्रेसमा सुरूदेखि नै मातृका र बीपीका अलगअलग गुट रहेको स्पष्ट हुन्छ । डिल्लीरमण रेग्मी, सुवर्णशमशेर राणाको पनि छुट्टै समूह थियो । त्यसको असर पार्टीले लिने हरेक निर्णयमा परेको थियो ।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि समेत गुटको गोलचक्करबाट कांग्रेस मुक्त हुन सकेन । तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाका अलग अलग गुट कांग्रेसमा सक्रिय थिए । भट्टराई र सिंह निकट देखिए पनि कोइराला पक्ष भने अलग रहेको थियो ।

    मुुख्य २ गुटमा रहेको कांग्रेस २०५९ सालमा फेरि विभाजित हुन पुग्यो । माओवादीविरुद्ध संकटकाल लगाउन नहुने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयविपरीत सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा अघि बढ्दा कांग्रेस अर्को पटक विभाजित भएको थियो ।

    २०६४ सालमा २ कांग्रेसबीच एकीकरण भयो तर पनि तल्लो तहसम्म फाटेको कांग्रेस जोडिन सकेन । बरु एकपछि अर्को गर्दै गुटगत राजनीति कांग्रेसमा फस्टाउँदै गएको छ । गुटकै आधारमा पार्टीभित्र मात्र होइन, राज्यका अंगहरुमा पनि भाग लिने र दिने परम्परा कांग्रेसमा विकास भएको छ । जसको फलस्वरूप यतिबेला तल्लो तहको अधिवेशनमा नै गुटगत राजनीति हाबी देखिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशिच छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend