काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन गरिएको छ ।
हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै २ गुटबीच कडा टक्कर हुने देखिएको छ ।
१४औं महाधिवेशन अन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।
जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ । सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन पक्षले नेतृत्व हात पारेको छ ।
१३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न मंसिर १० गते जिल्ला अधिवेशन हुँदैछ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दशैंअघि नै अधिवेशन भएको थियो । अन्य हिमाली तथा पहाडी जिल्लामा पनि अहिले धमाधम नेतृत्व चयनको काम हुँदैछ ।
संस्थापन पक्षबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ ‘कान्छाराम’, मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति बनेका छन् ।
डडेल्धुरामा भीमबहादुर साउँद, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, पाँचथरमा रूपनारायण जवेगु, जुम्लामा कर्णबहादुर शाही, लमजुङमा डा. टेकबहादुर गुरुङ, जाजरकोटमा बेदराज सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन पक्षबाट सभापतिमा विजयी भएका छन् । जाजरकोटका सिंह र मनाङका गुरुङ सर्वसम्मत सभापति चयन भएका छन् ।
संस्थापनइतर पक्षबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, गोरखामा नन्दप्रसाद न्यौपाने, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका र बाजुरामा रामसिंह रावल जिल्ला सभापति निर्वाचित भएका छन् ।
अर्घाखाची जिल्लामा केशव श्रेष्ठ, भोजपुरमा विनोद बान्तवा, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पामा किशोर आचार्य जिल्ला सभापतिमा बनेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र भएको रसुवा, दार्चुला र धनकुटामा जिल्ला अधिवेशन हुन बाँकी नै रहेको छ भने अन्य जिल्लामा प्रक्रिया सुरू भएर अड्किएको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला रहेका
छन् ।
कांग्रेसले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गतेका लागि जिल्ला अधिवेशन तोकेको छ । त्यसपछि मंसिर १६ र १७ गते कांग्रेसले सातै प्रदेशमा प्रदेश तहको अधिवेशन गर्नेछ भने २४, २५ र २६ मंसिरका लागि केन्द्रीय महाधिवेशन तय गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।