काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको निर्वाचन लड्ने क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिकाको ४ नम्बर वडामा वडा अधिवेशनका क्रममा चुनाव भएको छ ।
गत प्रतिनिधिसभा चुनावमा कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी आरजुले धनगढी उपमहानगरपालिकाको ४ नम्बर वडामा घर किनेकी थिइन् । देउवा प्रधानमन्त्री भएपछि राणाको घरमा नियमित सुरक्षा रहने गरेको छ ।
कांग्रेसको वडा अधिवेशनअन्तर्गत वडा सभापतिमा २ जना र १० जना क्षेत्रीय प्रतिनिधिका लागि २५ जनाको उम्मेदवारी परेपछि चुनाव भएको छ ।
वडा सभापति पदमा अनन्तराज जोशी र सन्तोष रावलबीच कडा टक्कर रहेको छ । उपसभापति पदमा भोजराज भट्ट र सुन्दरराज शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।
सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । खेम मिश्र, गौरवराज पाण्डे र कृष्ण पनेरुले उम्मेदवारी दिएपछि सचिव पदमा पनि चुनाव भएको छ । २ सहसचिव निर्वाचित हुने पदमा ५ जनाको उम्मेदवारी परेको छ । सहसचिवमा धर्मदेव जोशी, रोशन सिंह, हेमबहादुर बोहरा र तेज कुँवरको उम्मेदवारी परेको छ ।
क्षेत्रीय प्रतिनिधि महिलामा द्रोपती भट्ट ‘मेघा’, सावित्री कार्की र सीतादेवी भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधि खस आर्यमा २ जनाका लागि प्रकाश देउवा, नवराज रेग्मी र जगन्नाथ जोशीको उम्मेदवारी परेपछि चुनाव भएको हो ।
खुलातर्फका १० जना क्षेत्रीय प्रतिनिधिका लागि लोकबहादुर खड्का ‘रवी’, ईन्द्रमणी अवस्थी, खगराज भण्डारी, हरीप्रसाद रेग्मी, भीमबहादुर बलायर, पुष्करनाथ ओझा, सुरेन्द्र बम, बुद्धिबहादुर खड्का, विष्णुबहादुर कुँवर, खडकसिंह ऐर ‘कुवेर’ लगायतको उम्मेदवारी परेको जनाइएको छ ।
खुलातर्फका थप उम्मेदवारमा तिलकबहादुर बोहरा, ओमप्रकाश पन्त, दामोदर कठायत, गणेश भण्डारी, पुष्करराज अवस्थी, गितराज भण्डारी, धर्मराज रेग्मी, नवीन जोशी, गुणाकर भट्ट, मीन पाण्डेय, ख्यामबहादुर खत्री, तर्कराज भट्ट, मनिष कुँवर र नरेन्द्रप्रसाद चटौत रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।