शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यी २ कारणले सर्दैछ कांग्रेस महाधिवेशन, पढ्नुहोस् चिरफारसहित भित्री रहस्य !

यी २ कारणले सर्दैछ कांग्रेस महाधिवेशन, पढ्नुहोस् चिरफारसहित भित्री रहस्य !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 4.1K
    SHARES

  • यी २ कारणले सर्दैछ कांग्रेस महाधिवेशन, पढ्नुहोस् चिरफारसहित भित्री रहस्य !

    काठमाडौं – नेपाली कांग्रेसको पाँचौंपटक तोकिएको १४औं महाधिवेशन आउन ठ्याक्कै १ महिना बाँकी रहेको छ तर तोकिएको मितिमा पनि महाधिवेशन हुनेमा कांग्रेस नेता विश्वस्त देखिँदैनन् ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल समेत महाधिवेशनबाट भागिरहेको नेताहरु बताउँछन् । 

    विश्लेषक पुरञ्जन आचार्य त्यसका दुई कारण रहेको बताउँछन् । पहिलो, गुटको व्यवस्थापनमा कठिनाइ । दोस्रो जीत सुनिश्चित हुनेमा शंका ।

    सभापति देउवाले महाधिवेशन सार्ने प्रस्ताव गर्दा वरिष्ठ नेता पौडेल पक्षले सहजै समर्थन जनाउनुले दुबै पक्ष महाधिवेशनबाट भागिरहेको देखाएको आचार्यको ठम्याइ रहेको छ । 

    ‘सभापति मात्र हैन, पार्टीका अन्य शीर्ष नेताहरु पनि जीत असुरक्षित देखेर महाधिवेशनबाट भागिरहेका छन्,’ उनी भन्छन्, ‘सभापतिले महाधिवेशन सार्ने प्रस्ताव गर्दा अरु नेता चुप लागेर सहमति जनाउँछन् ।’

    पौडेल पक्षका नेताले सभा समारोहमा गएर महाधिवेशन सार्न देउवाले षड्यन्त्र गरिरहेको आरोप लगाउने गरेका छन् । देउवाका अगाडि भने ‘रुझेको बिरालो’ बन्ने गरेको आचार्यको विश्लेषण रहेको छ ।

    महाधिवेशनको मिति नजिकिँदा पनि देउवा र पौडेल पक्षले गुटको व्यवस्थापन गर्न सकेका छैनन् । देउवानिकट विमलेन्द्र निधि आफंै सभापतिको उम्मेदवार बनेका छन् । गोपालमान श्रेष्ठले सभापति पदमै उम्मेदवारी घोषणा गरेका छन् । निधि छुट्टै कित्तामा उभिँदा देउवालाई प्रत्यक्ष प्रभाव पर्ने नेताहरु बताउँछन् । 

    पौडेल पक्षलाई पनि गुट व्यवस्थापन नै टाउको दुखाइ बनेको छ । अधिकांश नेताले सभापतिमा दाबी गरिरहेका छन् । डा. शेखर कोइराला, डा. शशांक कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह सभापतिका आकांक्षी रहेका छन् । यो पक्षबाट एक जना मात्र सभापतिको उम्मेदवार बन्ने दाबी नेताहरुले गर्दै आए पनि सकारात्मक लक्षण देखिएको छैन । दोस्रो तहका नेताको व्यवस्थापन पनि दुबै पक्षका लागि जटिल देखिएको छ । 

    अर्का नेता कृष्णप्रसाद सिटौलाले यसपटक पनि सभापति पदमा उम्मेदवार बन्ने बताइरहेका छन् तर नेता गगन थापाले क्याम्प परिवर्तन गरेका कारण सिटौला अप्ठ्यारोमा परेका छन् । युवा नेता प्रदीप पौडेलको व्यवस्थापन सिटौलालाई चुनौती बनेको छ । 

    विश्लेषक गेजा वाग्लेले भने, ‘कांग्रेसमा जहिलेसम्म क्रियाशील सदस्यताको विवाद रहन्छ, त्यतिञ्जेल महाधिवेशन तोकिएको समयमा हुन सक्दैन । दुबै पक्षबीच आ–आफ्ना पक्षकालाई क्रियाशील सदस्यता दिलाउन तानातान हुन्छ । सबैलाई जीत चाहिएको छ ।’

    बाहिरबाट २ पक्ष देखिए पनि भित्र अनेक उपसमूह रहेको वाग्लेले बताए । ‘सबैलाई आफ्नो पक्ष ठूलो बनाउनु छ । जीत देखाउनुछ,’ वाग्ले भन्छन्, ‘यसकारण क्रियाशील विवाद कहिल्यै मिल्दैन । नेतृत्वले महाधिवेशन सारेको सार्‍यै गर्छ ।’

    देउवा र पौडेललाई गुट व्यवस्थापनमा जटिलताका कारण महाधिवेशनमा जीत सुनिश्चित हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । त्यही कारण देउवाले महाधिवेशन सार्न ५ पटक प्रस्ताव गर्दा पौडेल पक्षले सहमति जनाउँदै आएको छ ।

    विश्लेषक आचार्य मंसिर २४–२७ गतेसम्म तोकिएको महाधिवेशन नेताहरुले सहमतिमै सार्न सक्ने बताउँछन् । ‘अब पनि नसार्लान् भन्न सकिँदैन,’ उनले भने, ‘तर अब अध्यादेश ल्याएर सार्नुपर्छ । त्यतिसम्मको हर्कत नगर्लान् कि भन्ने झिनो आशा रहेको छ ।’

    वरिष्ठ नेता पौडेलले अब भने महाधिवेशन तोकिएकै मितिमा हुने बताए । ‘देउवाजीको पहिलादेखिकै महाधिवेशन नगर्ने रणनीति हो,’ उनले भने, ‘अहिलेसम्म अधिवेशन भएका जिल्लाबाट हाम्रो समूह अस्वाभाविक ढंगबाट अघि आएको छ । यो देखेर देउवाजीलाई झड्का लागेको छ । त्यसकारण पनि उहाँ अधिवेशन नगराउने दाउमा हुनुहुन्थ्यो । अब उहाँ उम्किन पाउनुहुन्न ।’ 

    नेता डा. शेखर कोइरालाले महाधिवेशन नचाहने नेतृत्वका कारण पार्टीको भविष्य संकटमा परेको बताए । समयमा महाधिवेशन गराउन नसक्ने पदाधिकारी र पूर्व पदाधिकारीहरुका कारण कांग्रेस इतिहासकै लज्जास्पद अवस्थामा आइपुगेको डा. कोइरालाको ठम्याइ रहेको छ । यसमा संस्थापन पक्ष मात्र नभई आफ्नै समूहका शीर्ष नेतृत्व पनि उत्तिकै जिम्मेवार रहेको उनले बताए ।

    ‘सभापति देउवाले नै अलोकतान्त्रिक हर्कत गर्नुभएको छ,’ कोइरालाले भने, ‘कांग्रेसको ७१ वर्षको इतिहासमा यस्तो कहिल्यै भएको थिएन । जुन जात्रा अहिले हामीले देखिरहेका छौं ।’

    कांग्रेसले पहिलोपटक २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र दल समायोजन प्रक्रियामा अल्झन देखिएको भन्दै सारिएको थियो । त्यसपछि २०७८ भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरियो तर क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय भयो । 

    क्रियाशील सदस्यताको विवाद चर्किएपछि साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले अर्को मिति मंसिर ९ देखि १३ गतेसम्म तोकेको थियो । फेरि महाधिवेशनको मितिलाई संशोधन गर्दै मंसिर २४ देखि २७ गतेसम्म तय गरिएको छ । 

    कांग्रेसमा समायोजन भएका दलहरु (विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी र सुनील थापा समूहको राप्रपा) का कारण सदस्यता सम्बन्धी विवाद थपिएको नेताहरु बताउँछन् । असन्तुष्ट पक्षले यी ३ पक्षलाई सदस्यतामा भाग दिएको आरोप देउवालाई लगाउने गरेका छन् । 

    नेता चन्द्र भण्डारी नेतृत्वका कारण महाधिवेशन समयमा हुन नसकेको बताउँछन् । ‘विधानको व्यवस्थाका कारण यसपटक त महाधिवेशन हुन्छ,’ नेता भण्डारीले भने, ‘नेतृत्वको इच्छाले चल्थ्यो भने अझै महाधिवेशन सर्न सक्छ ।’

    प्रवक्ता विश्वप्रकाश शर्माले अब महाधिवेशन सर्ने सम्भावना कत्ति पनि नरहेको बताए । उनले भने, ‘सभापति एवं प्रधानमन्त्रीज्यूले नै अब मिति नसर्ने कुरामा ढुक्क हुन भन्नुभएको छ ।’

    नेतृत्वका कारण नभई कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण महाधिवेशन अहिलेसम्म धकेलिएको प्रवक्ता शर्माले बताएका छन् ।

    २१ हिमाली जिल्लाका अधिवेशन दशैंअघि गर्ने निर्णय भएको थियो तर मनाङ, मुस्ताङ, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, दोलखा, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, रुकुमपूर्व र गोरखा गरी १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन भएको छ । 

    विधानअनुसार महाधिवेशनअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी ६ चरणका अधिवेशन हुन्छन् । ६४ जिल्लाका वडा, नगर महाधिवेशन मात्र सम्पन्न भएका छन् । १३औं महाधिवेशनमा ५ लाख क्रियाशील सदस्य रहेकोमा कांग्रेसले १४औं महाधिवेशनमा ८ लाख पुर्‍याउने निर्णय गर्‍यो तर सदस्यता थपघटका कारण विवाद देखिएको छ । 

    नेता अर्जुननरसिंह केसीले नेतृत्वमा गम्भीरताको कमीका कारण महाधिवेशनलाई मज्जाकको रुपमा लिइएको बताए । ‘विदेशमा रहेका कांग्रेस कार्यकर्ताको उस्तै बिजोग छ । १५–२० वर्ष पार्टीमा योगदान गरेर बसेकालाई समेत क्रियाशील दिइएको छैन । यो समस्या यथावत नै छ,’ नेता केसीले भने, ‘अनि यस्तो अवस्था सिर्जना गरेर आपूm कार्यकारी पदमा रमाई राख्न कसरी मन लाग्छ ? देउवाजीको अहमताले गर्दा पार्टीको अस्तित्वनै धरापमा पर्दैछ ।’

    नेता एनपी साउँदले महाधिवेशन समयमा सम्पन्न नहुनुमा नेतृत्वभन्दा पनि परिस्थिति दोषी रहेको बताए । नेतृत्वले पार्टीको अस्तित्व जोगाउन हरसम्भव प्रयास गरेको नेता साउँदले बताए । उनले भने, ‘विधान संशोधन गरेरै भए पनि अधिवेशनको सुरूआत भएको हो । हामीलाई जुनसुकै नेतृत्व आए पनि कुनै आपत्ति होइन । सबै नेताहरु आ–आफ्नो हिसाबले लाग्नुभएकै छ ।’ 

    नेता सिटौलाले २ नम्बर प्रदेशको क्रियाशील विवाद समाधानमा ढिलाइका कारण महाधिवेशन नै प्रभावित भएको बताए । ‘करीब–करीब टुंगो लाग्छ फेरि चित्त बुझ्दैन अनि फेरि बल्झिन्छ । अब भने समाधान गरेका छौं,’ क्रियाशील सदस्यता विवाद समाधान कार्यदलका संयोजक समेत रहेका सिटौलाले भने । समय सीमाअनुसार नै महाधिवेशन हुने महामन्त्री पूर्णबहादुर खड्काको भनाइ रहेको छ । 

    नेता धनराज गुरुङले नेतृत्वले परिस्थितिलाई दोष दिएर महाधिवेशनजस्तो अतिसंवेदनशील विषयमा खेलाची गरेको आरोप लगाए । ‘नेतृत्वको अकर्मण्यलाई ढाकछोप गर्ने भनेको परिस्थितिलाई अगाडि देखाउने हो,’ उनले भने, ‘विधान र संविधानलाई नाघेर अघि बढेको नेतृत्वलाई रामरामबाहेक केही भन्न सकिँदैन ।’ 

    युवा नेता गुरु घिमिरेले देशभरका वडा तहदेखिको अधिवेशन एकैपटक गर्ने परम्परा यसपटक खण्डित गरिएको आरोप लगाए । ‘क्रियाशील सदस्यको नामावली पनि एकै पटक सार्वजनिक भएन,’ नेता घिमिरेले भने, ‘महाधिवेशन सार्ने बेला सबैको सहमति हुन्छ ।’ नेतृत्व विधानअनुसार नचल्दा समस्या आएको घिमिरेले बताएका छन् ।

    महाधिवेशन सम्पन्न भएको तेस्रो वर्षमै नयाँ क्रियाशील सदस्यता वितरण र पुरानो नवीकरण गरिसक्नुपर्ने व्यवस्था विधानमा रहेको छ तर २०७२ फागुनमा १३औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले त्यसपछिको ३ वर्ष संगठनात्मक काम गरेन । घिमिरेले भने, ‘महाधिवेशन हुने वर्षमा नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाइने विधानको व्यवस्थालाई नै परिवर्तन गरियो । यही कारण क्रियाशील सदस्यताको विवाद आएको हो ।’ 

    कांग्रेसले २ नम्बर प्रदेशका ८ सहित १३ जिल्लामा वडा तहकै अधिवेशन गर्न बाँकी रहेको छ । बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा क्रियाशील विवादका कारण वडा अधिवेशन हुन सकेको थिएन । ती जिल्लामा अब कात्तिक २७ गते वडा अधिवेशन तोकिएको छ । कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति सदस्य तेजप्रसाद रावलले बताए । ४ हिमाली जिल्ला दार्चुला, म्याग्दी, सोलुखुम्बु र जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन र कात्तिक २७ गते प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ ।

    मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुनेछ । मंसिर ३ गते ६१ जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन र ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

    सहमहामन्त्री डा. प्रकाशशरण महतले अब महाधिवेशन सर्ने ठाउँ नभएको बताए । उनले भने, ‘अहिलेसम्म जे जति समस्या देखिए पनि अब क्रियाशील विवाद कतै पनि छैन । सबै समाधान भइसक्यो ।’

    १४औं महाधिवेशन तोकिएको मिति र सारिएको कारण

    – २०७७ फागुन ७–१०ः कोरोना महामारी, क्रियाशील सदस्यता र दल समायोजन
    – २०७८ भदौ ७–१०ः कोरोना महामारी र सदस्यता विवाद
    –२०७८ भदौ १६–१९ः क्रियाशील विवाद
    – २०७८ मंसिर ९–१३ः क्रियाशील विवाद, सभापतिको ध्यान सरकार गठनतिर र प्राकृतिक विपत्ति 
    – २०७८ मंसिर २४–२७

    आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend