काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १ र २ नोभेम्बरमा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६औं सम्मेलनको वल्र्ड लिडर समिटमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भोलि शुक्रवार प्रस्थान गर्ने भएका छन् ।
भ्रमणका क्रममा देउवाले ३० अक्टोबरमा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री देउवा भ्रमणमा रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
३१ अक्टोबरका दिन प्रधानमन्त्री देउवा सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । देउवाले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग समेत भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री देउवा १ नोभेम्बरमा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । देउवाले वर्ल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले समारोहमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
देउवा २ नोभेम्बरको बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा ३ नोभेम्बरमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले नेपाली बगैंचामा बिरुवा समेत रोप्ने जनाइएको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव लगायत सरकारका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । देउवा बेलायतबाट ३ नोभेम्बरमा स्वदेश फर्कने र ४ नोभेम्बर बिहान स्वदेश आइपुग्ने जनाइएको छ ।
कोप–२६ आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुन गइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।