शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देशभरका विद्युत् ग्राहकलाई देउवा सरकारको राहत, कति घट्यो महशुल ? जान्नुहोस् 

देशभरका विद्युत् ग्राहकलाई देउवा सरकारको राहत, कति घट्यो महशुल ? जान्नुहोस् 

  • मिडिया डबली
  • बुधवार, कार्तिक १० २०७८

  • 6.1K
    SHARES

  • देशभरका विद्युत् ग्राहकलाई देउवा सरकारको राहत, कति घट्यो महशुल ? जान्नुहोस् 

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनतालाई राहत दिने नीतिअनुसार विद्युत् नियमन आयोगले गरीब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महशुल दर घटाउँदै नयाँ निर्धारण गरेको छ ।

    नयाँ निर्धारण गरिएको महशुल दर आगामी मंसिरको विद्युत् खपतका आधारमा पुस महिनादेखिको बिलमा समावेश हुने भएको छ । देउवा सरकारले बजेटमा महशुलमा छुट दिने निर्णय गरेको थियो । 

    विपन्न नागरिकलाई लक्षित गरेर ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महशुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले बताएका छन् ।

    ‘गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाइएको छ,’ सिंहले भने ।  

    विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाई, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महशुल निर्धारण गरिएको छ । मुलुकमा हाल विद्युत् ग्राहक संख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको संख्या १९ लाख ८६ हजार ५०७ रहेको छ ।

    आयोगका अनुसार सिंगल फेजबाट मासिक १५१–२५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरिएको छ ।

    सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

    सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट ९.५० रुपैयाँ कायम भएको छ ।

    सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाई प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको प्रमुख आयुक्त सिंहले बताए । आन्तरिक रुपमा विद्युत् खपत बृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने नेपाल सरकारको नीति अनुरुप सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताका लागि विद्युतीय चुलोजस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साविकको भन्दा कम महशुल हुने गरी महशुल दर निर्धारण गरिएको छ ।

    विद्युतीय सवारीसाधनको उपयोग बढाउन थ्री–फेजबाट विद्युत् आपूर्ति लिने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा असारदेखि कात्तिकसम्म वर्षा यामको महशुल दर र मंसिरदेखि ज्येष्ठसम्म सुक्खायामको महशुल दर हुने गरी मौसमी दर कायम भएको छ ।

    आयोगका अनुसार थ्री–फेज तल्लो भोल्टेज (२३०/४०० भोल्ट) बाट आपूर्ति हुने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट १ रुपैयाँले घटार्ई प्रतियुनिट १०.५० रुपैयाँ कायम भएको छ । 

    मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट १.५० रुपैयाँले घटार्ई प्रतियुनिट १०.५० र सुक्खायामको इनर्जी शुल्क ५० पैसाले घटार्ई प्रतियुनिट ११.५० रुपैयाँ कायम भएको छ । आन्तरिक विद्युत् खपत बृद्धि गराउने नेपाल सरकारको नीति अनुरुप तथा थ्री–फेजबाट विद्युत् उपभोग गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको समेत साविकको भन्दा कम महशुल हुने गरी महशुल दर स्वीकृत गरिएको जानकारी दिइएको छ ।

    ११/३३ किलो भोल्ट (केभी) बाट आपूर्ति लिई मासिक १००० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको वर्षायामको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसाले घटार्ई प्रतियुनिट १०.५० रुपैयाँ कायम गरिएको आयोगले जानकारी दिएको छ ।

    १ हजारभन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट १.५० रुपैयाँले घटार्ई प्रतियुनिट १०.५० रुपैयाँ र सुक्खायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँले घटार्ई प्रतियुनिट ११ रुपैयाँ कायम भएको छ । जनसंख्याको ठूलो हिस्सा अझै पनि कृषिमा निर्भर रहेको र अर्थतन्त्रमा कृषिको योगदान उल्लेख्य रहेको पक्षलाई मध्यनजर गर्दै ट्युवबेल आदि सञ्चालन गर्न सिँचाइ उपभोक्ता वर्गको हकमा औसतमा ४०.६९ प्रतिशतले महशुल घटाइएको आयोगका सदस्य डा. रामप्रसाद धितालले बताएका छन् ।

    टीओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १.१५ रुपैयाँले घटार्ई प्रतियुनिट २ रुपैयाँ कायम भएको छ । धितालका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १.७० रुपैयाँले घटार्ई प्रतियुनिट ३ रुपैयाँ कायम गरिएको छ । टीओडी मिटरमार्फत ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १.५० रुपैयाँले घटार्ई प्रतियुनिट २ रुपैयाँ कायम भएको छ ।

    बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १.६५ रुपैयाँले घटाई प्रतियुनिट ३.१० रुपैयाँ कायम गरिएको पनि जानकारी दिइएको छ । विद्युत् प्रयोग गरेको समयका आधारमा (टीओडी) मिटर नराखी ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.३० रुपैयाँले घटार्ई प्रतियुनिट २.५० रुपैयाँ कायम भएको छ ।

    टीओडीका आधारमा मिटर नराखी ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.३० रुपैयाँले घटार्ई प्रतियुनिट २.६० रुपैयाँ कायम गरिएको छ भने टीओडी मिटर नराखी २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ रुपैयाँले घटार्ई प्रतियुनिट २.२५ रुपैयाँ कायम गरिएको छ ।

    सामुदायिक थोक उपभोक्ताले आफ्नो ग्राहक संख्या गुणा ३० बराबरको मासिक न्यूनतम शुल्क बुझाउने गरी र सोबापत आफ्नो ग्राहक संख्या गुणा २० बराबरको युनिट विद्युत् ऊर्जा निःशुल्क प्राप्त गर्ने छन् । सोभन्दा बढी विद्युत् ऊर्जा परिमाणका लागि इनर्जी शुल्क साविककै रहने गरी कायम गरिएको छ । अन्य उपभोक्ताको हकमा हालको महशुल दरमा कुनै परिवर्तन नगरिएको जानकारी दिइएको छ ।

    सिंगल फेज तथा थ्री–फेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर निःशुल्क गरिएको छ । भारतबाट अघिल्लो वर्ष प्राधिकरणले २१ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा आगामी वर्ष त्यसलाई घटाएर करीब १२ अर्ब रुपैयाँमा सीमित तुल्याउने आयोगले प्रक्षेपण गरेको छ ।

    भारतबाट हाल आयात ३१.४, विद्युत् प्राधिकरणको ३१.४ र निजी क्षेत्रबाट उत्पादित विद्युत्को हिस्सा ३७.२ रहेको जानकारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend