शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस महाधिवेशन मंसिरमा नहुने, के छ सभापति देउवाको भित्री दाउ ?

कांग्रेस महाधिवेशन मंसिरमा नहुने, के छ सभापति देउवाको भित्री दाउ ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेस महाधिवेशन मंसिरमा नहुने, के छ सभापति देउवाको भित्री दाउ ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा देखिएका छन् । 

    पार्टी विधान र संविधानअनुसार साढे ५ वर्षभित्र महाधिवेशन गर्न असफल उनी अझै केही समय महाधिवेशन सार्ने र टार्ने रणनीतिमा पुगेका छन् ।

    भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरू भएपनि हालसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन । त्यसैलाई कारण देखाएर सभापति देउवा आम निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका छन् ।

    निर्वाचन आयोगले सोमवार चैत पहिलो हप्ता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई सुझाव दिएको छ । त्यतिमात्र होइन, फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ । 

    माघ पहिलो हप्ता निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगको तयारी रहेको छ । सभापति देउवा स्थानीय निर्वाचनभन्दा पहिला आमनिर्वाचन (प्रतिनिधिसभा) गराउने पक्षमा रहेका छन् । 

    अर्को मंसिरमा गर्नुपर्ने निर्वाचन आगामी बैशाख–जेठमै तान्ने र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गराउने दाउमा रहेका देउवा विभिन्न तहका निर्वाचनलाई देखाएर पार्टीको १४औं महाधिवेशन पर सार्ने रणनीतिमा जुटेका देखिएका छन् ।

    चौथोपटक तोकिएको महाधिवेशनको मिति (मंसिर ९–१३) आउन १ महिना मात्र बाँकी रहेको छ तर त्यसका लागि गर्नुपर्ने कुनै तयारी अघि बढेको छैन । तोकिएको मितिमा पनि कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित भइसकेको छ । 

    कतिपय नेताले तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्दै आएका छन् । उनीहरुले महाधिवेशनका लागि नेतृत्वलाई दबाब दिन भने छाडेका छन् ।

    संवैधानिक र कानूनी जटिलता छल्न कांग्रेसले भदौ १८ गतेबाट वडा अधिवेशन सुरू गरिसकेको छ । विधानको व्यवस्थाअनुसार ५ वर्ष (फागुन) र संवैधानिक व्यवस्था अनुसार साढे ५ वर्ष (गत भदौ) मै कांग्रेसले महाधिवेशन गरिसक्नुपर्ने थियो तर संवैधानिक छिद्र र सत्ताको प्रभावमा कांग्रेसले आफ्नो महाधिवेशन सुरू भएको देखाउँदै मंसिरमा गर्ने निर्णय गरेको थियो । 

    सोहीअनुसार २ नम्बर प्रदेशका ८ सहित १३ जिल्लाबाहेक अन्य जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेस संस्थापन पक्षले महाधिवेशन सुरू भएर स्थगन भएको बहाना बनाउँदै अझै केही समय लिने रणनीति बनाएको छ ।

    सोहीअनुसार रसुवा, रौतहट सहितका जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन । जबकि कांग्रेसको क्रियाशील सदस्यता महाधिवेशनको पूर्वाधार हो । विवादित जिल्लाका समस्या समाधान गर्न केही नेतालाई जिम्मेवारी दिइएको छ । सहमहामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेललाई रसुवाको जिम्मेवारी दिइएको छ ।  

    कोरोना भाइरसको संक्रमणका कारण पौडेल अस्वस्थ हुँदा त्यहाँको काम अघि बढ्न सकेको छैन । रौतहटको विवाद समाधानको जिम्मा नेता मीनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । त्यहाँको विवाद राजनीतिक समाधानका आधारमा खोजिने समझदारी बनेको छ । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका नेतालाई अधिवेशन प्रतिनिधि ल्याउने र सदस्यता भने अहिलेकै कायम राखेर समाधान खोजिने बताइएको छ तर उक्त काम अहिलेसम्म अघि बढेको छैन ।

    विवादित जिल्लाको सदस्यता टुंगो नलागेसम्म कांग्रेसको निर्वाचन समितिले अन्य जिल्लाका बाँकी अधिवेशन प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ । सदस्यता विवादको समाधान गर्ने जिम्मेवारी पाएका नेताले तिहारअघि ती जिल्लाको सदस्यता टुंगोमा पुर्‍याए छठ (कात्तिक २४) पछि बाँकी १३ जिल्लामा वडा अधिवेशन हुनेछ ।  

    नेताहरुको बुझाइमा बाँकी १३ जिल्लाको वडा अधिवेशन छिटोमा कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता मात्र सम्भव छ । सबै जिल्लाको वडा अधिवेशनपछि मात्र पार्टी केन्द्रीय समितिले बाँकी तहको अधिवेशनको कार्यतालिका निर्धारण गर्नेछ ।

    मंसिर ९ गतेका लागि तोकिएको मितिमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न सक्ने बताउँदै एक नेताले भने, ‘मंसिर ९ गते महाधिवेशन होइन, केन्द्रीय समिति बसेर अधिवेशनका बाँकी कार्यतालिका आउन सक्ने देखियो ।’

    तल्लो तहको अधिवेशन सकिएपछि पनि महाधिवेशनको तयारीका लागि झण्डै १ महिना समय लाग्ने दाबी गर्दै ती नेताले भने, ‘पुसयता कांग्रेस महाधिवेशन सम्भव छैन ।’

    यसअघि नै पार्टीका शीर्ष नेताहरूबीच मंसिर अन्तिम हप्ता महाधिवेशन सार्ने समझदारी बनेको थियो । 

    दशैंअघि पार्टी केन्द्रीय कार्यसमिति बैठक राखेर नयाँ कार्यतालिका सार्वजनिक गर्ने समझदारी बने पनि महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका कारण बैठक बस्न नसकेको नेताहरुले दाबी गरेका छन् ।

    शीर्ष नेताहरुले महाधिवेशन गर्न चाहँदा पनि सबै जिल्लामा वडा र पालिकाको अधिवेशन सकिँदा मध्य मंसिर हुने ती नेताको दाबी छ । प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र सातै प्रदेशको अधिवेशन मंसिरभित्र सक्न कठिन हुने उनले दाबी गरेका छन् ।

    ‘सभापतिजी महाधिवेशन गराउने पक्षमै हुनुहुन्न,’ ती नेताले भने, ‘अहिलेसम्म महाधिवेशनका लागि कुनै तयारी सुरू भएको छैन ।’

    महाधिवेशन गर्न अहिलेसम्म कांग्रेसले आयोजक सहितका कुनै समिति गठन गरेको छैन । त्यहाँ पेश गर्ने राजनीतिक, आर्थिक, सांगठनिकसहितका प्रस्ताव तयारी र लेखन विषयले कांग्रेसमा प्रवेशै पाएको छैन । त्यसका लागि पनि १ महिनाको समय आवश्यक हुने जिकिर गर्दै अर्का नेताले भने, ‘४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई कहाँ राख्ने ? आर्थिक जोहो कसरी गर्ने ? यी विषयमा अहिलेसम्म छलफलै सुरू भएको छैन तर महाधिवेशन हुन्छ हुन्छ भनेर अल्मल्याउने काम भने भइरहेको छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend