काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् ।
बडादशैं अर्थात् विजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषता बीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताए ।
‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आमनेपालीलाई आग्रह गरेका छन् ।
‘यस समयमा बडादशैं पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरूलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रुपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु,’ सन्देशमा उल्लेख छ ।
असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा हरेक वर्ष मनाइने महान पर्व दशैंको मुख्य दिन विजयादशमीको सुखद् उपलध्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रधानमन्त्री देउवाले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
उनले दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुशी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।