काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवतः आज वा भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिएकाले पनि सकेसम्म आजै नभए भोलि घटस्थापनाको दिन देउवाले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
कांग्रेसको भागमा गृह, परराष्ट्र, कानुन, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । दलहरूबीच सबैभन्दा ठूलो लडाइँ सञ्चार र स्वास्थ्य मन्त्रालयको भागबन्डामा परेको थियो । अन्य दलले स्वास्थ्य मन्त्रालयमा दाबी गरेका थिए तर कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्री बनिसकेकाले सो मन्त्रालय आफैंले राख्ने प्रधानमन्त्री देउवाको अडान थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अलिकति पनि विवादमा नपरी राम्रो परफरमेन्स देखाएकाले पनि कांग्रेसमा मन्त्रालय छाड्न नहुने दबाब परेको थियो । यदि स्वास्थ्य मन्त्रालय अर्कै दलले पाएमा राज्यमन्त्री श्रेष्ठ सरकारबाट बाहिरिने निश्चित थियो तर अहिले स्वास्थ्य मन्त्रालय कांग्रेसले नै राख्ने मोटामोटी सहमति भएको बुझिएको छ ।

यदि अन्तिम दिनसम्म पनि स्वास्थ्य मन्त्रालय कांग्रेसकै भागमा परेमा श्रेष्ठले मन्त्रीमा बढुवा पाउने भएका छन् । कोभिडविरुद्धको खोपका साथै मन्त्रालय सञ्चालन र कर्मचारीको व्यवस्थापनमा राज्यमन्त्री श्रेष्ठले उत्कृष्ट काम गरेकाले उनलाई फुलमन्त्री दिन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।