काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिबार काठमाडौंको नगर अधिवेशन हुँदैछ ।
अधिवेशन राष्ट्रिय सभागृहमा सुरू भएको छ । कांग्रेस नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरू गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायत उपस्थित भएका छन् ।
देशकै राजधानी रहेको काठमाडौं महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले महत्त्वका साथ लिएका छन् । काठमाडौं धेरै महाधिवेशन प्रतिनिधि निर्वाचित हुने क्षेत्र पनि हो ।
काठमाडौं महानगरको सभापति लगायत पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह पक्षबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।
पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र नेता सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापति पदमा प्रतिस्पर्धा हुनेछ । विगतदेखि काठमाडौंमा सिंह पक्ष बलियो देखिँदै आएको थियो ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई सभापति उम्मेदवार बनाएको छ ।
प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा महानगरपालिसँग ९ निर्वाचन क्षेत्र जोडिएका छन् । तसर्थ काठमाडौंको अधिवेशनतिर सबैको नजर रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।