काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आज शुक्रबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि अधिवेशन गर्दैछ ।
स्थानीय तहका वडा, पालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएका जिल्लामा आज शुक्रबार प्रतिनिधिसभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन भइरहेको छ ।
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि समेत चुनिने छन्, आज चुनिएका महाधिवेशन प्रतिनिधिले केन्द्रीय सभापतिसहित केन्द्रीय कार्यसमिति चयन गर्नेछन् ।
कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएका छन् । यिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४औं केन्द्रीय महाधिवेशनमा मतदाता हुनेछन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गरिने भएको छ ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका ठाउँमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउने छैनन् तर एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउने प्रावधान छ ।
कांग्रेसले असोज १८ गते २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन गरिरहेको छ । त्यसका लागि प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेका छन् भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आजदेखि हुँदैछन् ।
कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा र पालिका अधिवेशन गरिसकेको छ । अरु जिल्लामा तल्ला तहका अधिवेशन सकेर दशैंतिहार तथा छठलगत्तै पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गर्ने तयारीमा कांग्रेस रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।