काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि थप ५ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हिजो शनिवार साँझ डोल्पा, बाँके, महोत्तरी, सुर्खेत र सिराहाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।
यससँगै ६९ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ ।
पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ३ सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति जुटिसकेको छैन ।
२ नम्बर प्रदेशका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस नेताहरू रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा रहेका छन् ।
कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन भइरहेका छन् । हिजो शनिवार करीब ५४ जिल्लामा पालिका अधिवेशन भएका छन् ।
वडाधिवेशन हुन नसकेका १३ जिल्लामा दशैंअघि नै अधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसले जनाएको छ । सदस्यता सार्वजनिक भएका जिल्लामा वडा अधिवेशनको मिति छिट्टै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।