काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनेको दुई महिनामै ठूलो झड्का खाएका छन् ।
अहिलेसम्म आलोचनात्मक समर्थन गर्दै आएका शुभेच्छुक र मिडिया देउवा सरकारको विभूषण जथाभावी बाँड्ने निर्णयपछि फ्रन्टलाइनमै ओर्लिएर विरोध गर्न थालेका छन् ।
संविधान दिवसका दिन पाँच सय बढीलाई सिफारिस गरिएको विभूषण र पदक विवादमा परेको छ । गृह मन्त्रालयले पदक तथा विभूषणको सिफारिस गर्ने गर्छ । गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण छन् । खाँणकै निर्देशनमा मनलाग्दी पदक तक्मा सिफारिस गरिएकाले सरकार विवादमा परेको स्रोतले बताएको छ ।
कतिसम्म भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सीता दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पिता, मल ल्याउन नसकेर कालोसूचीमा परेका ठेकेदार हुमनाथ कोइरालालाई समेत तक्मा बाँडिएपछि वर्तमान सरकारको साख गिरेको छ । यसैलाई आधार बनाएर एमाले अध्यक्ष केपी ओलीले सरकारको कडा आलोचना गरेका छन् ।
देउवा सरकारलाई सबैभन्दा ठूलो धक्का भने पत्रकारहरूले पदक नलिने घोषणा गरेपछि लागेको छ । नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा, इकागजका प्रधान सम्पादक हरिबहादुर थापा, नेपाल समयका सम्पादक नारायण अमृत तथा कार्टुनिस्ट रविन सायमीले पदक बहिष्कार गरेपछि देउवा सरकारको बेइज्जत भएको छ ।
आसेपासे र चाकडीवाललाई मात्र पदक दिएको भन्दै यसै पनि विगतदेखि नै विभूषण र मानपदवी सिफारिस विवादमा पर्दै आएको थियो । तर, अहिले भने एकैदिन धेरैले बहिष्कार गरेपछि प्रधानमन्त्री देउवाले ठूलो ‘सेटब्याक’ महसुस गरेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।