काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसूस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले अनेक चुनौतीबीच संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्तिका लागि सबैले संकल्प गर्नु आवश्यक रहेको बताए ।
मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका सबैलाई स्मरण समेत गरे ।
नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधान सभाबाट विक्रम संवत् २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई संविधान कार्यान्वयन गरेको सर्वविदितै छ,’ उनको सन्देशमा उल्लेख गरिएको छ, ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।’
सभापति देउवाले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह समेत गरेका छन् ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको उनले जनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।