काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका १३ जिल्लाको सदस्यता नामावली शनिवार सार्वजनिक गर्ने सहमति जुटेको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा सदस्यता सार्वजनिक गर्ने सहमति जुटेको छ ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालाले क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदल सदस्यसँग छलफल गरेपछि सहमति जुटेको छ ।
कार्यदल सदस्य कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिवारसम्म बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन जिम्मेवारी दिइएको छ ।
क्रियाशील सदस्यता टुंगिन बाँकी रहेका जिल्लामा २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके रहेका छन् ।
क्रियाशील सदस्यता टुंगिएका ५७ जिल्लामा वडा अधिवेशन भएको छ भने बाँकी जिल्लाको लागि असोज ५ गते वडा अधिवेशन हुने गरी कार्यतालिका तय गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।