शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसका चर्चित युवा नेताहरू को कुन गुटमा ?

कांग्रेसका चर्चित युवा नेताहरू को कुन गुटमा ?

  • मिडिया डबली
  • आइतवार, भाद्र २७ २०७८

  • 10.4K
    SHARES

  • कांग्रेसका चर्चित युवा नेताहरू को कुन गुटमा ?

    काठमाडौं – १४औं महाधिवेशनको मुखैमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे । शुक्रवार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए ।  

    १३औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका थिए । देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे ।

    देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन् । देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरु बताउँछन् ।

    महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ । ‘गुट र टीम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन ।’

    १४औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरू भएको छ ।

    देउवालाई यतिबेला १३औं महाधिवेशनका सारथीहरु जोगाउनुपर्ने आवश्यकता रहेको उनी निकट नेताहरु बताउँछन् । गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन् तर सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरुको बुझाइ छ ।

    विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन् । गुटलाई कायम राखेर १ जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मेहम्मे छ । शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन् ।

    धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट १ जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम देखिएको छ । शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरुको समर्थन रहेको छ । १३औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट रहेका छन् । शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरु बताउँछन् । 

    आफ्नो गुटबाट सभापतिमा पौडेल सर्वसम्मत नभए प्रकाशमानले पनि सभापतिमा दाबी गर्ने बताएका छन् । प्रकाशमानलाई बलबहादुर केसी सहितका नेताहरुले साथ दिएका छन् । पौडेल गुटबाट शशांक पनि सभापतिका जबरजस्त उम्मेदवार हुन् । बीपीपुत्र शशांकलाई सभापतिको उम्मेदवार बनाउन डा. मीनेन्द्र रिजाल, दीपक गिरी, दीपक खड्का लगायतका नेताहरुले जोडबल गरिरहेका छन् । महामन्त्री शशांकले शनिवार चितवनमा पत्रकार सम्मेलन गरी आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । 

    पौडेल गुटबाट सुजाताले पनि सभापतिमा उठ्ने घोषणा गरेकी छन् । बीपीपुत्र र गणेशमानपुत्र मिलेर आफूलाई बेवास्ता गरेको भन्दै उनले फरक मोर्चा कस्न थालेकी छन् । ‘म पछि हट्दिनँ,’ सुजाता भन्छिन्, ‘मैले पहिला पनि छाडेकै हो ।’ 

    १३औं महाधिवेशनमा छुट्टै गुट बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका कृष्ण सिटौला ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । यद्यपि सिटौलाले आफू सभापतिको उम्मेदवार बन्ने आफू निकट नेताहरुलाई बताउँदै आएका छन् । सिटौला गुटका सशक्त गगनले गुट परिवर्तन गरेका कारण सिटौला अप्ठ्यारोमा परेका छन् । सिटौला गुटबाट महामन्त्रीमा चुनाव जित्न कठिन हुने विश्लेषणसहित गगनले गुट परिवर्तन गरेको युवा नेताहरु बताउँछन् । 

    आफूसँगै गुटका प्रदीप पौडेल र भीमसेनदास प्रधानलाई जसरी पनि ‘सेटल’ गर्नुपर्ने दबाबमा सिटौला रहेका छन् । भीमसेनदास प्रकाशमानका विपक्षमा भएकाले सिटौलालाई देउवासँगै समीकरण बनाउन सहज हुने अनुमान गर्न थालिएको छ ।

    देउवा गुटका सशक्त निधिले छुट्टै गुटको अभ्यास गरिसकेका छन् । तामझामसहित बानेश्वरमा सम्पर्क कार्यालय खोलेर निधिले महाधिवेशनको तयारी गरिरहेका छन् । युवा नेता तथा प्रवक्ता शर्मा थपिएसँगै निधिको गुट पनि बलियो बनेको विश्लेषण गरिएको छ । अरु नेताहरू पनि थपिँदै जाने निधिको विश्वास रहेको छ । निधिलाई १४औं महाधिवेशनमा सभापति बनाउने भनेर प्रदीप गिरीले अघिल्लै महाधिवेशनमा वचन दिएका थिए । गिरीले सभापतिमा निधिलाई सघाउने नेताहरु बताउँछन् । 

    २०७५ पुसमा बसेको महासमिति बैठकले पार्टी विधान संशोधन गर्दै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरेको छ । प्रत्यक्ष निर्वाचन हुने भएपछि उपसभापति र महामन्त्री दुबै पदमा पनि नेताहरु उम्मेदवार बन्न दौडधुपमा रहेका छन् ।

    नेता महेश आचार्य पनि माहोल हेरेर आफू उम्मेदवार बन्ने बताउँछन् । ‘चुनावका बेला प्रभावशाली गुटमा लाग्नु अनौठो होइन,’ आचार्य भन्छन्, ‘माहोल हेरेर मात्र उम्मेदवारी घोषणा गर्छु ।’

    सभापतिमा कल्याण गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् । ‘पार्टीका युवा, जनजाति, मधेशी र पिछडिएका क्षेत्रका जनताको समर्थन पाउने आशा गरेको छु,’ उनले भने । 

    १४औं महाधिवेशनको मुखमा युवा नेताका गुट अदली बदलीले महाधिवेशनको नजितालाई प्रभावित पार्ने आकलन गर्न थालिएको छ । देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता शर्माले गुट परिवर्तन गरिसकेका छन् । गगनले पनि सिटौला गुट छाडेका छन् । ‘मेरो उद्देश्य संस्थापन इतर पक्ष एक हौं भन्ने हो,’ गगनले भने ।  

    देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ । पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल लगायतका खुमबहादुर गुटका नेताहरुले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन् । यो गुटको व्यवस्थापनसँगै महामन्त्रीमा देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ । यसपटक विधानमा २ जना महामन्त्रीको व्यवस्था भएका कारण व्यवस्थापनमा सहज हुने नेताहरु बताउँछन् ।

    महामन्त्री पूर्णबहादुर खड्काले वडा र स्थानीय तहको अधिवेशनपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताए । ‘अहिले नै उम्मेदवारी गर्न हतार छैन,’ उनले भने ।  

    पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरुबीच हानथाप रहेको छ । गगन, गुरुराज, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी लगायतका नेताहरु महामन्त्री उम्मेदवारका आकांक्षी छन् । यो गुटबाट सभापतिमा को उम्मेदवार बन्छ भन्ने कुराले महामन्त्रीका लागि सहज हुने नेताहरुको बुझाइ रहेको छ । 

    देउवा गुटका भीष्मराज आङ्दम्बेले पनि महामन्त्रीमा इच्छा व्यक्त गरेका छन् । आङ्दम्बेले भने, ‘मेरो उम्मेदवारी बार्गेनिङका लागि होइन । युवा, आदिवासी, महिला र पिछडिएका प्रतिनिधिहरुको भोटले मलाई जिताउने विश्वास छ ।’ 

    विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन् । गिरिजाप्रसाद कोइरालापछि शेखर, त्यसपछि निधि हुँदै ढुंगाना यसपटक देउवा गुटमा प्रवेश गरेका छन् । निधिले यसपटक ढुंगानाको साथ पाउने विश्वास गरेका थिए ।

    फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छाडेर १३औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन् । विगतमा देउवा छाडेर कोइराला गुटमा प्रवेश गरेका डा. नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन् । मीनेन्द्र रिजाल पनि देउवा छाडेर गिरिजाप्रसाद कोइराला हँुंदै शशांकतिर लागेका छन् । अर्जुन जोशी कोइराला गुट छाडेर देउवातिर फर्केका छन् ।

    गुट–गुट मिलेर कांग्रेस पार्टी गठन भएको विश्वास गरिन्छ । गुटकै कारण कांग्रेस २ पटक विभाजित पनि भएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीले गुट चलाएका थिए । 

    त्यसपछि २००७ सालको क्रान्ति लगत्तै पार्टीमा मातृकाप्रसाद कोइराला र बीपी गुट देखियो । सहोदर दाजुभाइ मातृका र बीपीबीचको गुटबन्दीले अन्ततः पार्टी विभाजन नै भयो तर त्यसयता कांगे्रसले गुटबन्दीकै बीच आफ्नो एकता कायम राखेको थियो । 

    एकताकै कारण कांग्रेसले २०१५ सालको आमचुनावमा विजय हुन सफल भएको थियो तर २०१७ पुस १ गते पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो । प्रतिबन्धित पार्टी निर्वासित हुँदै प्रतिबन्धकालमा पनि कांग्रेसभित्र बीपी र सुवर्णशमशेर राणा गुट देखा परेका थिए । 

    बीपी र सुवर्णबीच प्रजातान्त्रिक संघर्षको सञ्चालन, राष्ट्रिय मेलमिलापको नीति, राजासँग सम्बन्धका विषयमा मतान्तर देखिँदै आएको थियो । फेरि ०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि प्रतिबन्धकालको गुटबन्दी र बैमनस्यको पुनरावृत्ति देखियो । नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचमा मतभेद थियोे ।

    कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल भन्छन्, ‘त्यतिबेला पनि नेताहरु अंकमाल गर्ने, सँगै फोटो खिचाउने र हात उठाउने चलन थियो । गुटका कारण अरू बेला ठूला कुरा गर्ने युवाहरू खुट्टा कमाउँछन् । गुटका कारण पदप्रतिको मोह बढेको हो । जो शक्तिमा हुन्छ त्यो प्रतिगुटको झुण्ड नै लाग्छ । यो संस्कार खराब छ ।’ 

    गुटकै कारण सिंह र भट्टराई पार्टी परित्याग गर्ने अवस्था आयो । गिरिजा र वर्तमान सभापति देउवाबीच पनि गुटगत लडाइँकै कारण पार्टी नै विभाजन हुन पुग्यो । 

    बीपी कोइरालाको निधनपछि सिर्जित ३ गुट भट्टराई रहुञ्जेल यथावत रह्यो तर फेरि सुशील कोइरालाको निधनपछि कांग्रेसमा ३ गुट प्रष्ट रूपमा सतहमा आएका छन् । साथै देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएका छन् । पौडेल गुटभित्र पनि उपगुटहरु हाबी भएका छन् । देउवा–पौडेलमाथि चुनौती दिँदै सिटौला आफ्नै रफ्तारमा गुट सञ्चालन गरिरहेका छन् । 

    राजनीतिक विश्लेषक कृष्ण खनाल कांग्रेसको राजनीति १४औं महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा गएर नरोकिने बताउँछन् । ‘जति गुट बढ्छन् त्यति नै असन्तुष्टि पार्टीमा देखिन्छ । अभैm पार्टी फुट्ने क्रम बढ्न सक्छ । १४ औंमा आइपुग्दा दोस्रो पुस्ताका नेतालाई कार्यकर्ताले रुचाएको देखिन्छ । यद्यपि युवाले आफू पदाधिकारीमै लड्ने आँट नगरे पनि वैकल्पिक नेतृत्व खोजेको देखिन्छ,’ उनले भने ।

    महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन । देशभर एकै दिन भदौ १८ गते वडा अधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले २० जिल्लाको विवाद टुंग्याउन सकेको छैन । १८ गतेदेखि वडा अधिवेशन सुरू भए पनि वडा अधिवेशन नै कहिलेसम्म टुंग्याउने हो भन्ने अन्योल छ । निर्वाचन समितिका अनुसार ५७ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । सदस्यताको टुंगो नलागेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । 

    अब बाँकी जिल्लाका वडा अधिवेशन असोज ५ गते गर्ने घोषणा गरिएको छ । गाउँपालिका/नगरपालिका अधिवेशन १ हप्ता पर सार्दै असोज ९ गते गर्ने, प्रदेशसभा/क्षेत्रीय अधिवेशन असोज ११ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १३ गते गर्ने संशोधित कार्यतालिका सार्वजनिक भएको छ । 

    वरिष्ठ नेता पौडेलले देशभर एकैदिन गाउँ/नगर अधिवेशन गर्न सभापति देउवालाई दबाब दिएका छन् तर सदस्यताको टुंगो नलागेसम्म एकैदिन गाउँपालिका/नगरपालिका स्तरमा अधिवेशन हुन कठिन हुने कांग्रेसी नेताहरु बताउँछन् । 

    कांग्रेसले यसअघि भदौ २७ गते गाउँ/नगर अधिवेशन, असोज १ गते प्रदेशसभा, क्षेत्रीय अधिवेशन र असोज  ५ गते एकैदिन प्रतिनिधिसभा/क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । वडा तहदेखि नै अधिवेशनको मिति धकेलिँदै जाँदा मंसिर ९–१३ गतेसम्म घोषणा गरिएको १४ औं महाधिवेशन पनि समयमै सम्पन्न हुनेमा नेताहरु आशंका व्यक्त गर्न थालेका छन् ।

    कांग्रेसका १२ युवा नेताको विज्ञप्ति प्रकाशित गर्दैै वडा र गाउँ/नगरपालिका स्तरीय अधिवेशन पर सारेकोमा आपत्ति जनाए । महाधिवेशनको कार्यतालिका सर्दै जाँदा महाधिवेशन नै तोकिएको समयमा हुँदैन कि भन्ने आशंका व्यक्त गरेका छन् । 

    नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादव लगायतले संयुक्त वक्तव्य जारी गरी तोकिएको मितिमा १४औं महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षण गरेका छन् । 

    देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता शर्माले गुट परिवर्तन गरिसकेका छन् । गगनले पनि सिटौला गुट छाडेका छन् । देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ । पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल लगायतका खुमबहादुर गुटका नेताहरुले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन् । 

    देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण रहेको छ । 

    पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरुबीच हानथाप छ । गगन, गुरुराज, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी लगायतका नेताहरु महामन्त्री उम्मेदवारका आकांक्षी छन् । 

    विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन् । फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन् । विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा. नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन् । मीनेन्द्र रिजाल पनि देउवा छाडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन् । अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend