काठमाडौं – १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नयाँ गुट बन्ने र भत्किन थालेका छन् ।
संस्थापन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरु विभिन्न गुट–उपगुट बनाउन र भत्काउन थालेका छन् ।
कांग्रेसमा विगतदेखि संस्थापन पक्ष र संस्थापन इतर गरी २ गुट सक्रिय रहेका थिए ।
सभापति देउवालाई यसपटक आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले साथ नदिने बताएका छन् । निधिले सम्पर्क कार्यालय खोलेर छुट्टै गुटको अभ्यास गरिसकेका छन् भने श्रेष्ठले गृहजिल्ला स्याङ्जाबाट सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
अर्कोतर्फ आफ्नो समूहबाट सभापतिमा आकांक्षी देखिएका ५ जनालाई दायाँ–बायाँ राखेर शीर्ष नेता पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन् ।
पौडेल समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्या देखिएको छ । १३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये १४औं महाधिवेशनसम्म आइपुग्दा ५ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला र रामचन्द्र पौडेल आफैं पनि दाबेदार हुन् ।
कोइराला परिवारभित्रै ३ जना सभापतिका दाबेदार निस्किएका छन् । महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला हुन् । सुजाताले १३औं महाधिवेशनमा समेत सभापतिको दाबी गरेकी थिइन् । सुजाता भन्छिन्, ‘म पछि हट्दिनँ । मैले पहिला पनि छाडेकै हो ।’
सभापतिमा दाबेदारी दोहोर्याउने सोचमा रहेका शीर्ष नेता कृष्णप्रसाद सिटौला वडा अधिवेशनअघि रिजर्भ बसेका छन् । वडा अधिवेशन सकिएपछि मात्र उनले उम्मेदवारीबारे मुख खोल्ने नेताहरु बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।