काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदबाट पारित गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले नेपालको विकासका लागि एमसीसी पारित गर्ने निर्णय गरेको हो ।
भोलि बुधबारदेखि सुरु हुने संसद अधिवेशनमा एमसीसी टेबुल भएर पारित हुने भएकाले संसदीय दलले पार्टी अधिवेशनका लागि देशभरका जिल्ला–जिल्लामा गएका सांसदलाई तत्काल काठमाडौं आउन ह्वीप जारी गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सहयोग ल्याउँदैमा अमेरिकी सेना नेपाल आउने भनेर कम्युनिस्टहरुले भ्रम फैलाएको आरोप लगाएका छन् ।
देउवाले भने, ‘एमसीसी आर्थिक सहयोग हो । देशको विकासका लागि ल्याउन खोजेको हो । एमसीसी अनुमोदन गर्दा अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइयो, त्यस्तो कहाँ लेखिएको छ ?’
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा छँदा एमसीसी अनुमोदनको कुरा गरेको र प्रतिपक्षमा पुग्ने बित्तिकै विरोध गरिरहेको बताए ।
कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘सरकारमा छँदा एउटा कुरा गर्ने, सरकार बाहिर गएपछि भातृ संगठनलाई सडकमा उतार्ने ? राजनीति गर्नेले यस्तो दोहोरो कुरा गर्न मिल्छ ?’
सभापति देउवाले देशको विकासका लागि यसअघि आफू प्रधानमन्त्री रहेको समयमा एमसीसीमा हस्ताक्षर भएको र यो देशहितको पक्षमा रहेको दाबी गरेका छन् । ‘एमसीसीबाट नेताहरुले पैसा खाए भनेर आरोप लगाइएको छ, कुनै देशले व्यक्तिलाई पैसा दिन्छ ?’ उनले भने ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा एमसीसी पास गर्नेबारे सहमति जुटाउने दाबी गरेका छन् ।
बैठकले संसदको बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप लगाउने निर्णय समेत गरेको छ । पार्टीको अधिवेशनको लागि सांसदहरू जिल्लामा गएकाले जिल्लाका कार्यक्रम छोट्याएर संसदको बैठकमा आउन निर्देशन दिने निर्णय भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।