शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

सबै मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कसले गर्‍यो अप्ठ्यारो ?

सबै मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कसले गर्‍यो अप्ठ्यारो ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 4.1K
    SHARES

  • सबै मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई कसले गर्‍यो अप्ठ्यारो ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलापछि देउवा असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

    देउवाले सोही दिन आफ्नो पार्टीबाट २ र नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्रीलाई शपथ दिलाएर ५ सदस्यीय मन्त्रिमण्डल विस्तार गरे भने पछि १ जना स्वास्थ्य मन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

    आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरुले नेतृत्व नपाउँदा नियमित बाहेकका अन्य कार्य रोकिएका छन् । मन्त्रालयहरुका कर्मचारी मन्त्रीको पर्खाइमा रहे पनि लामो समय प्रधानमन्त्रीले मन्त्री चयन गर्न सकेका छैनन् ।

    प्रधानमन्त्रीको सचिवालयले अब चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाएको छ । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् पूर्णता दिने विषयमा छलफल गरिरहनुभएको छ, अब चाँडै मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनको सचिवालयले भनेको छ ।

    प्रधानमन्त्री देउवा तथा मुख्य सत्ता घटक नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट विभाजित माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन चाहँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको छ भने आयोगले आज बुधवार सनाखतका लागि बोलाएको छ ।

    प्रधानमन्त्री स्रोतका अनुसार एकीकृत समाजवादीले दलको प्रमाणपत्र पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नेमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् ।

    यसअघि नै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पूर्णता दिलाउन प्रयास गरेका थिए । जनता समाजवादी पाटी (जसपा) नेपाल भित्रको विवाद, एमाले भित्रको विवाद र आफ्नै पार्टी भित्रको महाधिवेशनको विषयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारले प्राथमिकता पाउन सकेको थिएन ।

    गत साउन दोस्रो हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको नेतृत्वमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रिमण्डल विस्तार तथा सरकार सञ्चालनका विषयमा आवश्यक सहमतिका लागि मापदण्ड बनाइने विषयमा छलफल गरेको थियो । त्यसयता पटक–पटक मन्त्रिमण्डल पूर्णता दिने विषयमा छलफल हुँदै आएको छ ।

    कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद बढ्दै गएको अवस्थामा पार्टीबाट मन्त्री हुनेहरुको टुंगो लगाउने विषयमा प्रधानमन्त्री देउवा आफैं अप्ठ्यारोमा परेका छन् ।

    यसअघि देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तारले प्रवेश पाउने बताएका थिए तर कांग्रेसभित्र क्रियाशील सदस्यको विषय अझै टुंगो लाग्न सकेको छैन ।

    मुख्य सत्ता साझेदार दल माओवादी केन्द्र, जसपाभित्र समेत मन्त्री चयनको विषयमा विवाद छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेको सार्वजनिक रुपमा नै बताएका थिए ।

    जसपा भित्रको आधिकारिताको विषय अदालतले टुंग्याएपछि पार्टीका तर्फबाट सरकारमा जाने मन्त्री छान्न ३ शीर्ष नेतालाई जिम्मा दिएको छ ।

    संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका हुन् । जसपाले समेत मन्त्रीको टुंगो लगाउन सकेको छैन ।

    प्रधानमन्त्री देउवाले पार्टीबाट यसअघि गृहमन्त्रीमा बालकृष्ण खाण र कानून मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले पछिल्लोपटक स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेस समानुपातिक सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।

    श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि देउवाको पार्टीभित्र आलोचना समेत भएको थियो । कांग्रेसबाट अन्य मन्त्रीहरु को–को पठाउने भन्ने विषयमा पार्टीभित्र विवाद देखिएको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षलाई समेट्ने विषयमा पनि समझदारी हुन बाँकी देखिन्छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend