शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस महाधिवेशनअघि कहाँ अड्कियो क्रियाशील सदस्यताको गाँठो ?

कांग्रेस महाधिवेशनअघि कहाँ अड्कियो क्रियाशील सदस्यताको गाँठो ?

  • मिडिया डबली
  • सोमवार, भाद्र ७ २०७८

  • 4.7K
    SHARES

  • कांग्रेस महाधिवेशनअघि कहाँ अड्कियो क्रियाशील सदस्यताको गाँठो ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने/नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर हुने देखिएको छ । 

    हालसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आएको छ ।

    कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन भदौ १८ गते सुरू भइसक्नुपर्छ । वडा अधिवेशनको मिति आउन ११ दिन छ । तर अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने नहुने निश्चित भएको छैन ।

    क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका शीर्ष नेता निरन्तरजसो छलफल समेत गर्दै आइरहेका छन् । हाल विवाद समाधानको जिम्मा नेता कृष्णप्रसाद सिटौलासहित नेताहरु रमेश लेखक र डा. मीनेन्द्र रिजाललाई दिइएको छ ।

    कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारीसहित शीर्ष नेतृत्वलाई बुझाएको थियो । नयाँ कार्यतालिका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको थियो । तोकिएको समय नाघिसकेको छ ।

    सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख गरिएको थियो ।

    प्रतिवेदनअनुसार बारा र सप्तरीका नयाँ सदस्यतामा जिल्लाभर विवाद छ । धनुषा ४, सर्लाही २ र रसुवा र सिन्धुपाल्चोकका केही नयाँ सदस्यतामाथि पनि विवाद रहेको छ । अन्य दलबाट आएर सदस्यता दिएकाहरुका विषयमा पनि यी जिल्लामा विवाद कायमै रहेको छ ।

    अन्य पार्टीबाट समायोजन भएर आएकाहरुका विषयमा समेत सदस्यतामा विवाद रहेको छ ।

    सदस्यताका विषयमा विवाद समाधान नहुँदा महाधिवेशन होला कि नहोला भन्नेमा अझै पनि आशंका उब्जिँदै आइरहेको छ । कांग्रेस नेता रामकृष्ण यादवले अब पनि सदस्यताको विवाद समाधान नभए महाधिवेशन गाह्रो हुने बताए ।

    ‘सदस्यताको विवाद देखाएर महाधिवेशन सारिएको छ, फेरि पनि विवाद समाधानउन्मुख भइरहेको देखिँदैन । यस्तै हो भने तोकिएको मितिमा महाधिवेशन गाह्रो छ,’ यादवले भने ।

    यादवले महाधिवेशन गर्ने नै हो भने अब विवाद देखिएका स्थानमा नयाँ क्रियाशील सदस्यतालाई थाँती राखेरै भएपनि नेतृत्व अघि बढ्नुपर्ने बताएका छन् । यो मतमा कांग्रेसभित्रको पौडेल पक्षमा बलियो रहेको छ ।

    पौडेल पक्षले विवाद भएका सदस्यताका हकमा १५औं महाधिवेशनमा मताधिकार दिने गरी निर्णयमा पुग्न सकिने बताउँदै आएको छ ।

    क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका सभापति देउवानिकट नेता लेखकले अब क्रियाशील सदस्यताका विषयको विवाद लगभग टुंगिएको बताए ।

    ‘विवाद समाधानउन्मुख छ, छिट्टै सभापतिलाई सदस्यताको फाइनल लिस्ट बुझाउँदै छौं,’ उनले भने । कांग्रेसले नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन मंसिर ९–१३ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । 

    वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७ गते, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend