काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट हुँदै राजीनामा दिएका २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता गरेका छन् ।
सभापति देउवाले मागबारे छलफल गर्न सकिने भएकाले राजीनामा अस्वीकृत गर्दै फिर्ता गरिदिएका छन् ।
आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले भने, ‘सभापतिज्यूले तपाईंहरूको मागको सम्बोधन गर्ने र मैले राजीनामा फिर्ता गरिदिए भन्नुभयो ।’
गत शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्य स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग राख्दै २२ जनाले सामूहिक राजीनामा दिएका थिए ।
राजीनामा दिनेहरूमा आमन्त्रित सदस्यहरु नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेक प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह रहेका छन् ।
कांग्रेस पार्टीमा केन्द्रीय समितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार एक अवधिका लागि स्वतः क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
आमन्त्रित केन्द्रीय सदस्यहरूको हकमा स्वतः प्रतिनिधि हुने व्यवस्था लागू छैन । यस्तो सुविधासहित आमन्त्रित केन्द्रीय सदस्यहरुले आफूलाई पनि स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग गरेका थिए । कांग्रेस विधानमा बढीमा १० जना मात्रै आमन्त्रित केन्द्रीय सदस्य रहने व्यवस्था छ तर कांग्रेस र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकालाई समेट्दा २२ जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।
सभापति देउवाले माग पूरा गर्न प्रयास गर्ने वाचा गर्दै राजीनामा फिर्ता गराएका हुन् । तर वरिष्ठ नेता पौडेल पक्ष भने आमन्त्रिक केन्द्रीय सदस्यका मागप्रति सकारात्मक छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।