काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन छैटौं पटक सर्दै मंसिरमा पुगेको छ ।
केन्द्रीय कार्यसमितिको शनिवार बसेको बैठकले मंसिर ९–१३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यसअघि पाँचौं पटक भदौ १६–१९ गतेसम्म महाधिवेशन तोकिएको थियो । सभापति शेरबहादुर देउवा नेतृत्वको वैधानिक कार्यकाल भदौ ३० गते सकिँदैछ ।
नेपालको संविधानले राजनीतिक दलको विधानमा कम्तिमा ५ वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भनेको छ । तर विशेष परिस्थितिमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी विधानमा व्यवस्था गर्न बाधा नपर्ने जनाइएको छ ।
कांग्रेसले ५ वर्षमा महाधिवेशन गर्न नसकी ६ महिनाको सुविधा समेत लिइसकेका छन् । म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरू गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताएका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले तल्ला तहको अधिवेशन भदौ १८ गतेदेखि गर्ने निर्णय गरिएको बताए । प्रवक्ता शर्माका अनुसार भदौ १८ गते वडा, २७ गतेमा गाउँ/नगरपालिका र असोज १ गतेमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै भएका जिल्लाको अधिवेशन असोज ५ गतेमा र एकभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन १० गते हुनेछ । प्रदेश अधिवेशन कात्तिक १०–१२ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीको वैधानिकता जोगिने र महाधिवेशन समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेता गुरु घिमिरेले बताएका छन् । ‘अहिलेको समय नै अप्ठ्यारो छ । सरकारले २५ जनाभन्दा भेला हुन नपाउने नियम बनाउँछ । कर तिर्न छुट दिने व्यवस्था गर्छ,’ उनले भने, ‘राजनीतिक पार्टीको हकमा पनि वैकल्पिक व्यवस्थाको प्रयोग गर्न दिनुपर्छ । पार्टीले वैधानिकता जोगाएरै कार्यतालिका ल्याएको छ ।’
बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ तर त्यसमा बाँकी रहेका कार्य भदौ २ गतेसम्म टुंगो लगाउने गरी कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र लेखकलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।
नेताहरुले सहमतिको प्रतिवेदन भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ । निर्वाचन निर्देशिकालाई भदौ २ गते नै अन्तिम रूप दिनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
निर्वाचन समितिले यसअघि ५३ दिन समय मागेको थियो । भदौ १८ गतेका लागि समेत तयारी अवस्थामा रहेको समिति सदस्य तेज रावलले बताएका छन् । उन भने, ‘एकैपटक सबै तहको चुनाव गर्न ४९–५३ दिन समय चाहिन्छ भनेका हौं । अब केन्द्रीय कार्यसमितिले नै तालिका बनाएर दिएपछि निर्वाचन समितिलाई सहज छ । भदौमा गरेपछि मंसिरमा बाँकी निर्वाचनका लागि प्रशस्त समय रहेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।