काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताबीच आगामी ३ दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति जुटेको छ ।
शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच आज बुधवार भएको छलफलमा क्रियाशील सदस्यताबो पार्टीमा देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति जुटेको हो ।
सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्तालाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने भन्नेबारे छलफल केन्द्रित भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बताएका छन् ।
‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरू गरिएको छ,’ सञ्चारकर्मीले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने, ‘यसले निरन्तरता पाउँछ र २–३ दिनभित्र टुंगिन्छ ।’
बैठकमा नेताहरूबीच पार्टीको आसन्न १४औं महाधिवेशनको कार्यतालिका समेत २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शीर्ष तहमा २ दिनभित्र टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।