सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भोलिसम्म यसरी हुँदैछ मन्त्रिपरिषद् विस्तार

भोलिसम्म यसरी हुँदैछ मन्त्रिपरिषद् विस्तार

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 7.3K
    SHARES

  • भोलिसम्म यसरी हुँदैछ मन्त्रिपरिषद् विस्तार

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ढिलोमा भोलि सोमवारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई समेत समेटेर सरकार विस्तार गर्ने समझदारी भएको छ ।

    पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिच्छा व्यक्त गरेको जनाउँदै त्यस्तो अवस्थामा कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट ७/७ मन्त्री पाउने भएका छन् ।

    बाँकी ३ स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरु मन्त्री बन्ने स्रोतको दाबी छ । ‘आईतवार बिहान संख्या र मन्त्रालय टुंगो लाग्छ,’ एक नेताले भने, ‘सत्तारुढ दलहरुले आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी गराउने नेताको गृहकार्य गरिरहेका छन् । सकेसम्म आईतवार नभए सोमवारसम्म सरकार विस्तार हुनेछ ।’

    नेपाली कांग्रेसबाट विस्तारित मन्त्रिपरिषद्मा पुष्पा भुसाल सहभागी हुने निश्चित रहेको दावी गर्दै नारायण खड्का, मानबहादुर विक, किशोरसिंह राठोर, बहादुरसिंह लामा सहितका नेता सक्रिय छन् । संस्थापनइतर पक्षबाट देउवाले नेता रामचन्द्र पौडेलसँग २ नेताको मात्र नाम मागेको स्रोतको दाबी छ । त्यसमध्ये पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन देउवाले चाहेको बताइएको छ । 

    तर पौडेल पक्षले ३ मन्त्रालयसहित ४ मन्त्री मागेका छन् । पौडेल पक्षबाट तेजुलाल चौधरी, दिलेन्द्रप्रसाद बडू, राजन केसी मध्येबाट सरकारमा सहभागी हुने भएका छन् । सञ्जय गौतम, मीनेन्द्र रिजाल समेत मन्त्रीका आकांक्षी छन् भने गगन थापा समेत अहिले यही समूहबाट सरकारमा सहभागी हुन चाहिरहेको निकटहरुको दाबी छ ।

    उपप्रधानमन्त्री संस्थापनइतरले पाए सिंह वा सुजाता कोइराला सहभागी हुने भएका छन् ।

    पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी सरकारमा सहभागी हुने भएका छन् । तर काठमाडौंबाट अर्को नेता सहभागी हुने अवस्था नआए देउवाको आग्रहमा सिटौलाले भीमसेनदास प्रधानलाई पठाउन पनि सक्नेछन् । असार २९ गते सरकारको नेतृत्व सम्हालेका देउवाले सोही दिन आफू निकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानूनमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    प्रधामन्त्रीले साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend