काठमाडौं – सरकारले आगामी चैतसम्म ३ करोड मात्राभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ ।
१२ वर्षभन्दा माथिका व्यक्तिलाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिए ।
उनका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिए । त्यसबारे डा. लोहनीले थप स्पष्ट पार्दै भने, ‘असोजदेखि चैतसम्म ३ करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउने छ ।’
अघिल्लो सरकारले कूल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको भए पनि त्यसमा बालबालिका परेका थिएनन् । अहिले १२–१८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिका समेत परेका छन् ।
असोज मसान्तभित्रै १ करोड ५ लाख ४८ हजार मात्रा खोप आइसक्नेछ र त्यसले देशको एकतिहाइ जनसंख्यालाई समेट्छ । डा. लोहनीले जापानबाट १६ लाख मात्रा एक्स्ट्राजेनिका खोप भदौको पहिलो हप्ता नेपाल आइपुग्ने बताए ।
कोभ्याक्सबाटै ३ लाख ४८ हजार डोज खोप भदौको चौथो हप्ता नेपाल आइपुग्नेछ । डा. लोहनीले कोभ्याक्स र विश्व बैंकले खोप दिने सुनिश्चित गरेको बताए । चीनबाट भदौ मसान्तसम्म ६० लाख मात्रा खोप नेपाल भित्रिने छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीमा भारतबाट प्राप्त गर्न बाँकी १० लाख मात्रा कोभिसिल्ड खोपसमेत चाँडै आउने विश्वास व्यक्त गरे ।
उनका अनुसार बालबालिकाका लागि चैत मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप आउनेछ । हालसम्म ३४ लाख ५ हजार १५४ अर्थात् १५.८ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । १४ लाख ३० हजार ४१५ अर्थात् ६.६ प्रतिशतले दुबै डोज खोप लगाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।