काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने ऐतिहासिक निर्णय गरेका छन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा पार्टीका हरेक बैठक बालुवाटारमै हुने गरेका थिए ।
सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै सरकारी निवासमै नेकपा र एमालेका बैठक हुने गरेपछि सर्वत्र आलोचना हुने गरेको थियो ।
देउवा प्रधानमन्त्री बनेपछि पार्टीका बैठक बालुवाटारमा नराख्न चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा लगायत नेताहरूले खबरदारी गरेका थिए ।
पार्टीका नेताहरूको सुझावलाई मनन् गर्दै प्रधानमन्त्री देउवाले पार्टीका बैठक बालुवाटारमा नराख्ने ऐतिहासिक निर्णय गरेका नेता एनपी साउँदले जानकारी दिए ।
साउँदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उत्कृष्ट निर्णय ! सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको ऐतिहासिक निर्णय, पार्टीका बैठक बालुवाटारमा नराख्ने । जय नेपाल !’
प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय गरेपछि सर्वत्र प्रशंसा हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।