काठमाडौं - विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोपको उपलब्धतामा ध्यान केन्द्रित गर्ने भएका छन् ।
आइतबार प्रतिनिधिसभामा विभिन्न दलका नेताहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा समेत देउवाले स्पष्ट रूपमा ‘सरकारको अबको प्राथमिकता खोप खोप खोप’ भनेर प्रतिबद्धता जनाएका थिए ।
देउवाले विकासभन्दा पनि पहिले जनताको जीवन महत्वपूर्ण भएको जनाउँदै कसरी धेरैभन्दा धेरै नेपालीलाई चाँडै कोभिडविरुद्धको खोप लगाउने भन्नेमा आफू गम्भीर भएको पनि बताएका छन् । देउवाले आजदेखि कोभिडविरुद्धको खोप सञ्चालन भइरहेका खोपकेन्द्रको अनुगमनसमेत गर्ने भएका छन् ।
देउवा प्रधानमन्त्री बनेलगत्तै चीनले अनुदानमा १६ लाख डोज खोप दिने घोषणा गरिसकेको छ । स्रोतका अनुसार केही दिनभित्रै भारतले पनि खोप सहयोगको घोषणा गर्ने भएको छ । देउवा सरकार बनेकै भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले कोभिडविरुद्धको खोप खरिदका लागि पाँच अर्ब छुट्याइसकेका छन् ।
सकभर सरकारले अनुदानको खोपलाई बढी प्राथमिकता दिने नभए तुरुन्तै खरिद प्रक्रिया अघि बढाउने भएको छ । गठबन्धनमा रहेका दलहरूबाट नाम आएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिएर देउवाले सरकारलाई सशक्त ढंगले चलाउने रणनीति अख्तियार गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।