काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरस विरुद्धको खोप भएको बताएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताए ।
‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप !’ देउवाले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए ।
देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्तुष्टि जनाएका छन् । विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद्मा आएको भए आफूलाई खुसी लाग्ने बताएका छन् ।
आईतवारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्ता समेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए ।
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठ्यारो परेको हुनसक्ने बताएका छन् । संविधानमा भएको धारा ७६(५) को व्यवस्थाबारे बोल्न अप्ठ्यारो लागेर नेम्वाङले धारणा नराखेको देउवाले अनुमान गरे ।
प्रधानमन्त्री देउवाले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधि सभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले मधेशको मुद्दामा आफू छलफल गर्न तयार रहेको बताए । ओली प्रधानमन्त्री हुँदा सधैं आफू बैठकमा आएको बताउँदै प्रधानमन्त्री देउवाले के कारणले नआएको हो थाहा नभएको बताएका छन् ।
‘उहाँ (ओली) बोल्दा म सधैं यहाँ आएको छु,’ उनले भने, ‘पहिले मनमोहन अधिकारी म बोल्दा पनि आउनुहुन्थ्यो, उहाँ बोल्दा पनि म दौडेर आउँथें ।’ ओली प्रतिनिधिसभा भवन गए पनि बैठकमा अनुपस्थित थिए । देउवाको जवाफ सकिएपछि भने ओली बैठक कक्षमा प्रवेश गरेका थिए ।
प्रधानमन्त्री देउवाले विश्वासको प्रस्तावका पक्षमा मत दिएका सबै दल तथा नेतालाई धन्यवाद दिए । उनले प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बोल्ने ठाने पनि नबोलेको बताए । प्रधानमन्त्रीले आफूले विपक्षलाई आक्रमण गर्ने पक्षमा नरहेको पनि बताएका छन् ।
नेकपा एमाले सांसद प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले भने, ‘धेरै आक्रमण गर्नुहोला भन्ठानेको गर्नुभएन ।’
संविधान सभाका पूर्व अध्यक्ष रहेका नेम्वाङले संविधानको धारा ७६ को ५ बारे बोल्ने अपेक्षा आफूले राखे पनि नेम्वाङले नबोलेको प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो ।
प्रधानमन्त्री देउवाले रेशम चौधरीलाई मन्त्रिपरिषद्ले निर्णय गरे पनि नछुट्ने बताएका छन् । जेल राख्न कसैलाई पनि मन नभएको उनले बताए ।
प्रधानमन्त्री देउवाले खोप नै प्राथमिकता रहेको बताए । ‘हाम्रो प्राथमिकता कोरोनाविरुद्ध खोप–खोप–खोप हो,’ देउवाले भनेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।