काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको आईतबारको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची बाहिरिएको छ ।
दोस्रो बैठकको सुरूमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवालाई विश्वासको मत लिने प्रस्ताव पेश गर्न अनुमति दिनेछन् ।
प्रधानमन्त्री देउवाले प्रस्ताव पेश गरेपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सदस्यहरूले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिने कार्यसूची छ । त्यसपछि छलफलका क्रममा उठेका प्रश्नमाथि प्रधानमन्त्री देउवाले जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री देउवाले जवाफ दिएपछि विश्वासको मतको प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दै मत विभाजन गर्ने कार्यसूचीमा उल्लेख छ । मत विभाजनपछि सभामुख सापकोटाले मत परिणाम सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ कार्यसूची –

यसैबीच, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय गरेको छ ।
जसपा सांसद उमाशंकर अरगरियाले विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत मागेका थिए ।
पत्र पठाएपछि कांग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल समेत भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले मधेशका माग पूरा गर्ने आश्वासन ठाकुरलाई दिएका थिए ।
प्रधानमन्त्री देउवाको आश्वासनपछि ठाकुर पक्षले समेत विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् । यसरी प्रधानमन्त्री देउवाको पक्षमा भारी बहुमत जुट्ने देखिएको छ ।
प्रधानमन्त्री देउवाले आईतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।