काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।
महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा निर्धारित मितिमा नै महाधिवेशन गर्नेबारे नेताहरु सहमत रहेको बताए । महतका अनुसार बैठकमा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको र सम्बन्धित समितिका संयोजकहरुले अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरेका छन् । सप्तरी र बारामा विवाद बढी देखिएको छ ।
लेखकले आइतवारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यतासम्बन्धी सूची बुझाइने बताए । लेखकका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् ।
उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएर आएका नेताकार्यकर्ताहरूको समायोजन सम्बन्धी विषयमा जानकारी गराएका छन् भने निर्वाचन सम्बन्धी निर्देशिका निर्माणका विषयमा समेत छलफल भएको छ ।
पदाधिकारी बैठकले निर्वाचनसम्बन्धी निर्देशिकाको टुंगो लगाउन सहमहामन्त्री महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी तोकेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडका अन्य विषयमा भने कुनै छलफल नभएको सहमहामन्त्री महतले दाबी गरेका छन् ।
कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिका अनुसार साउन १२ गतेबाट वडा अधिवेशन सुरू भइसक्नुपर्ने छ । गाउँ र नगरको अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गतेका लागि तय छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि तय भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।