काठमाडौं – ५ राजनीतिक दलआवद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि सोमवार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दलआवद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको बताएका छन् ।
‘बैठकले फैसलाको स्वागत गर्दै सबै दलसँगको सहकार्यबाट नै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ, संविधान र लोकतन्त्रलाई सर्वोच्च अदालतले बचाएको छ, अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने निर्णय छ,’ उनले भने ।
नेता पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएको समेत बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलवार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ । विपक्षी गठबन्धनमा आवद्ध दलहरुबीच सोमवार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिले सानो आकारको मन्त्रिपरिषद् बन्ने बताए । ‘पहिले सानो आकारको मन्त्रिपरिषद् बन्छ, नेताहरु छलफलमा नै हुनुहुन्छ, मंगलवार बिहान फेरि बैठक बसेर मन्त्रिपरिषद्बारे टुंगो लगाउँछौं,’ उनले भने ।
सर्वोच्च अदालतले दिएको साँझ ५ बजेको समयभित्र शपथ हुने विश्वास कांग्रेस सहितका विपक्षी गठबन्धनको रहेको खाँणले बताएका छन् । ‘सर्वोच्चको फैसला र आदेशअनुसार नै शपथको कार्यक्रम आउला, ५ बजेभित्र शपथ गर्नू भन्ने सर्वोच्चको आदेश छ, राष्ट्रपति कार्यालयबाट सर्वोच्चको आदेशको पालना हुनेमा हामी ढुक्क छौं,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।