काठमाडौं – नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान राजनीतिक सहमतिका आधारमा हुने सहमति भएको छ ।
सदस्यताको मापदण्डबारे निर्णय लिन बसेको पदाधिकार र पूर्व पदाधिकारीहरूको बैठकले तत्कालका लागि सहमतिका आधारमा पारित हुनेजति सदस्यता टुंग्याउन छानविन समितिलाई निर्देशन दिने सहमति गरेको छ ।
सहमति नजुट्ने सदस्यता विवादका हकमा छानविन समिति र निर्वाचन समितिले आपसमा मापदण्ड बनाएर टुंग्याउन सकिने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
सदस्यता विवाद समाधानको मापदण्डमै विवाद बढेपछि मध्यमार्गी उपाय खोज्दै सहमतिमा टुंग्याइने भएको स्रोतले जनाएको छ । कतिपय जिल्लाको विवाद समाधान गर्न सहज भएकाले त्यहाँको विवाद टुंग्याउने सहमति भएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेसम्म क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई सदस्यताको विवरण बुझाउनुपर्ने भएको छ । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टाछुट्टै बैठक बसेर गुटमा छलफल गरिएको थियो ।
प्रस्तावित मापदण्डमा दुबै पक्ष सहमत नभएपछि सदस्यता छानविन सहमतिका आधारमा अघि बढाउने सहमति भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हालसम्म ८ लाख बढी नयाँ र नवीकरण भएका क्रियाशीलको सदस्यको सूची आइपुगेको जनाइएको छ ।
सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पदाधिकारी बैठकको निर्णयले सहमतिका आधारमा सदस्यता टुंग्याउन बाटो खोलेको बताएका छन् । ‘अब हामी सहमतिकै आधारमा सदस्यता टुंगो लगाउँछौं । सहमति हुन नसकेका विषयमा के गर्ने भन्ने पनि सहमति भएकोले अब क्रियाशीलबारे विवाद रहँदैन,’ उनले भने ।
बैठकले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरूको सदस्यता नवीकरणका विषयमा पनि सहमतिबाट निर्णय लिने सहमति गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।